नेपाली भाषाको विकासलाई पनि अर्थतन्त्र, प्रविधि र रोजगारीसँग जोड्नु पर्छ: गणेश राई
सीएपीद्वारा नेपाली भाषा दिवस पालन


गान्तोक, 20 अगस्त (हि.स.)। सिटिजन एक्सन पार्टी सिक्किमको साहित्य परिषद्को तत्वावधानमा आज ३५औँ नेपाली भाषा मान्यता दिवस पार्टी कार्यालयको प्रेक्षागृहमा पार्टी अध्यक्ष गणेश राईको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

कार्यक्रममा नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउन औपचारिक अभियानको शुरुवात गर्ने तथा राष्ट्रियस्तरमा नेपाली भाषा मान्यताको आन्दोलनलाई नेतृत्व गर्ने अग्रज भाषाप्रेमीहरू आनन्दप्रसाद पाठक, टीकादत्त निरौला लगायतका व्यक्तित्वहरूको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउने अभियानमा महत्वपूर्ण योगदान पुर्‍याउने तथा लोकसभामा नेपाली भाषा मान्यताका लागि स्वतन्त्र विधेयक प्रस्तुत गरी विश्वभरका नेपाली भाषीहरूको शिर उँचो बनाउने व्यक्तित्वहरूप्रति कार्यक्रममा सम्मान र कृतज्ञता व्यक्त गरिएको थियो।

अध्यक्षीय सम्बोधनको क्रममा सिटिजन एक्सन पार्टी सिक्किमका अध्यक्ष गणेश राईले नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउन संघर्ष गर्ने सम्पूर्ण अग्रज, अभियन्ता तथा भाषाप्रेमीहरूप्रति सम्मान र आभार व्यक्त गरे। ३५औँ नेपाली भाषा मान्यता दिवसको अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली भाषीहरूलाई शुभकामना तथा अभिवादन व्यक्त गर्दै अध्यक्ष राईले देहरादुनका तीन विभूति आनन्द सिंह थापा, नरेन सिंह राणा र वीरसिंह भण्डारीलाई विशेष रूपमा स्मरण गरे।

उनले नेपाली भाषाको संवैधानिक मान्यताको संघर्षको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गर्दै सन् १९६१ मा पश्चिम बंगालले नेपाली भाषालाई राज्यस्तरमा मान्यता दिएको ऐतिहासिक घटनालाई स्मरण गरे। उनले रतनलाल ब्राह्मणले नेपाली भाषामा शपथ लिने साहस गरे पनि नेपाली भाषामा शपथ लिने अनुमति प्राप्त गर्न नसकेको प्रसङ्ग उल्लेख गरे।

पछि लोकसभामा नेपाली भाषामा सम्बोधन गर्ने साहसले नेपाली भाषाको संवैधानिक मान्यताको आन्दोलनमा महत्वपूर्ण माइलखुट्टी स्थापित गरेको अध्यक्ष राईले बताए। उनले तत्कालीन लोकसभा सांसद दिलकुमारी भण्डारीले नेपाली भाषा विदेशी भाषा हो भन्ने भ्रम चिर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पार्टीको तर्फबाट आभार प्रकट गरे।

उनले विपक्षको भूमिका सत्तारूढ दललाई गाली र आलोचना गर्नमा मात्र सीमित हुन्छ भन्ने सत्तारूढ दलको सोच गलत रहेको बताए। पार्टीले नेपाली भाषा मान्यता दिवस, भानु जयन्ती, गणतन्त्र दिवस, स्वतन्त्रता दिवस लगायतका विभिन्न महत्वपूर्ण दिवसहरूमा कार्यक्रम आयोजना गरेर विपक्षमा रहेर पनि रचनात्मक र जनमुखी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने प्रमाणित गरिसकेको उनले बताए।

अध्यक्ष राईले नेपाली भाषाको संरक्षण, समृद्धि, प्रचार-प्रसार तथा लोकप्रियताका लागि भाषालाई अर्थतन्त्रसँग जोड्न आवश्यक रहेको बताए। भाषाको विकास केवल भावनात्मक विषयमा सीमित नराखी रोजगारी, प्रविधि, शिक्षा, अनुसन्धान, सञ्चार, प्रकाशन, पर्यटन तथा अन्य आर्थिक गतिविधिसँग जोड्न सके नेपाली भाषाको संरक्षण र विस्तार अझ प्रभावकारी हुने उनको भनाइ थियो।

उनले नेपाली भाषाको विकास र समृद्धिका लागि सरकारको तर्फबाट पर्याप्त ठोस तथा प्रभावकारी कार्यक्रम आउन नसकेको आरोप लगाए। सीएपीले सरकार गठन गरेपछि नेपाली भाषाको सुरक्षा, संरक्षण, विकास र समृद्धिका लागि स्पष्ट नीति निर्माण गरी त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

नेपाली भाषा बोल्ने व्यक्तिलाई अशिक्षित, ‘ग्वाँक’ वा कम बौद्धिक ठान्ने तथा अंग्रेजी भाषा बोल्ने व्यक्तिलाई मात्र बौद्धिक र ज्ञानी ठान्ने सामाजिक मानसिकता विकास हुँदै गएकोप्रति अध्यक्ष राईले चिन्ता व्यक्त गरे। यस्तो सामाजिक प्रवृत्तिका कारण नयाँ पुस्तालाई नेपाली भाषाप्रति आकर्षित गर्न कठिनाइ भइरहेको उनले बताए। उनले नेपाली भाषाको विकासलाई पनि अर्थतन्त्र, प्रविधि र रोजगारीसँग जोड्न सके मात्र भाषाले अपेक्षित रूपमा फड्को मार्न सक्ने बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande