
नयाँ दिल्ली, २१ अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहान सधैँझैँ ‘सुभाषितम्’ अन्तर्गत परोपकारको भावनाले ओतप्रोत एक श्लोक आफ्नो एक्स ह्यान्डलमा साझा गर्दै निःस्वार्थ सेवा र समर्पणको सन्देश दिएका छन्।
प्रधानमन्त्री मोदीले लेखेका छन्, “नदीहरूको अविरल प्रवाहले हामीलाई आफ्नो सामर्थ्यलाई मानवताको हितमा कसरी प्रयोग गर्न सक्छौँ भन्ने सिकाउँछ। निःस्वार्थ सेवा, समर्पण र परोपकारको यही भावनाले राष्ट्रलाई नयाँ दिशा प्रदान गर्छ।”
‘सुभाषितम्’ यस्तो छ-
''जीवनं स्वं परार्थाय नित्यं यच्छत मानवाः। इति सन्देशमाख्यातुं समुद्रं यान्ति निम्नगाः॥''
यस श्लोकमार्फत प्रकृतिको उदाहरण दिँदै मानिसलाई परोपकारको शिक्षा दिइएको छ। कविका अनुसार, संसारका सबै नदीहरू पहाडबाट निस्किएर निरन्तर समुद्रतर्फ बगिरहन्छन्। नदीहरूले आफ्नो पानी आफैँ पिउँदैनन्, बरु बाटोमा आउने जीवजन्तुको प्यास मेटाउनुका साथै खेतबारीलाई सिँचाई गरेर जीवनलाई सहयोग पुर्याउँछन्।
कविले नदीहरूको यस निःस्वार्थ यात्रालाई मानव जातिका लागि मौन सन्देशका रूपमा प्रस्तुत गरेका छन्। नदीहरूले मानौँ मानिसलाई भनिरहेका छन्, “जसरी हामी आफ्नो सर्वस्व अरूका लागि समर्पित गर्दै अन्ततः समुद्रमा विलीन हुन्छौँ, त्यसैगरी तिमी मानिसहरूले पनि आफ्नो जीवनलाई केवल स्वार्थका लागि नभई अरूको भलाई र सेवाका लागि उपयोग गर्नुपर्छ।”
यस सन्देशमार्फत प्रधानमन्त्री मोदीले निःस्वार्थ सेवा, समर्पण तथा परोपकारको भावनालाई जीवनमा आत्मसात् गर्न आह्वान गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी