
गान्तोक, 26 अगस्त (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले पूर्वोत्तर सीमावर्ती रेलवेको (एनएफआर) गुवाहाटीस्थित मुख्यालयमा वरिष्ठ अधिकारीहरूसँग समीक्षा बैठक गर्दै प्रस्तावित मल्ली-देन्ताम रेलमार्गको अन्तिम स्थान सर्वेक्षणको प्रगतिको जायजा लिएका छन्।
सांसद कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार, बैठकमा पूर्वोत्तर सीमावर्ती रेलवेका अधिकारीहरूले सर्वेक्षण अन्तर्गत हालसम्म सम्पन्न कार्य तथा सर्वेक्षणका क्रममा अध्ययन भइरहेका विभिन्न पक्षबारे विस्तृत प्रस्तुति दिएका थिए। डा. सुब्बाले सर्वेक्षणको प्रगतिबारे विस्तृत समीक्षा गर्दै सर्वेक्षण प्रक्रिया शीघ्र सम्पन्न गरी प्रस्तावित रेल परियोजनालाई यथाशीघ्र अघि बढाउनुपर्नेमा जोड दिए।
प्रस्तावित मल्ली-देन्ताम रेलमार्ग सिक्किमका लागि रणनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ। यसले राज्यको रेल सम्पर्कलाई सुदृढ़ बनाउनुका साथै पश्चिम सिक्किमस्थित भारत-नेपाल सीमाक्षेत्रसम्मको पहुँचलाई सहज बनाउने अपेक्षा गरिएको छ। रेलमार्ग निर्माणले मानिस तथा मालसामानको आवत-जावत सहज पार्नुका साथै क्षेत्रको आर्थिक तथा रणनीतिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताइएको छ।
सांसद डा. सुब्बाले सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गर्दै परियोजनालाई अघि बढाउन पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। साथै, सिक्किममा रेल सम्पर्कको विस्तार र सुधारलाई प्राथमिकतामा राख्नुपर्ने कुरामा उनले जोड दिए।
डा. सुब्बाले विस्तृत प्रस्तुति तथा परियोजनालाई अघि बढाउन निरन्तर गरिरहेको प्रयासका लागि पूर्वोत्तर सीमावर्ती रेलवेका अधिकारीहरूप्रति आभार व्यक्त गरे।
---------------
हिन्दुस्थान समाचार / बिशाल