
गान्तोक, 26 अगस्त (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीको आज राङगाङ याङगाङ क्षेत्रमा संगठन सुदृढीकरण तथा विस्तारसम्बन्धी महत्वपूर्ण सभा सम्पन्न भयो। पार्टीका क्षेत्रीय संगठन प्रभारी पीके राईको अध्यक्षतामा सम्पन्न उक्त सभामा क्षेत्रमा पार्टी संगठनलाई अझ सशक्त, प्रभावकारी, व्यवस्थित तथा जनमुखी बनाउने विषयमा विस्तृत छलफल गरियो। उक्त जानकारी आज जारी प्रेस विज्ञप्तिमा दिइएको छ।
सभालाई सम्बोधन गर्दै नाम्ची जिल्ला कार्यकारी अध्यक्ष रमेश किरातले एसडीएफ पार्टी सिक्किम र सिक्किमे जनताको हित, अधिकार, पहिचान, सुरक्षा तथा समग्र विकासका लागि प्रतिबद्ध पार्टी बताए। उनले सिक्किमको वर्तमान राजनीतिक तथा सामाजिक अवस्थाबारे आम नागरिक सचेत हुनुपर्नेमा जोड दिँदै सिक्किमे जनताले आफ्नो हित, अधिकार र भविष्यका लागि सही राजनीतिक निर्णय लिनुपर्ने आवश्यकता औँल्याए।
उनले वर्तमान समयमा सिक्किममा देखापरेका विभिन्न समस्या तथा चुनौतीहरूबारे जनतालाई सचेत गराउँदै सिक्किम र सिक्किमे जनताको हित तथा अधिकार संरक्षणका लागि एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गरे।
सभाध्यक्ष पीके राईले आफू लगायत सम्पूर्ण टोली राङगाङ याङगाङ क्षेत्रमा टोलस्तरसम्म पार्टी संगठन निर्माण, विस्तार तथा सुदृढीकरण गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। उनले पार्टी संगठनलाई जनताको घरदैलोसम्म पुर्याउँदै आम जनताका समस्या, गुनासा तथा सरोकारका विषयलाई पार्टीको प्राथमिकतामा राखेर अघि बढाइने बताए।
साथै, वर्तमान समयमा सिक्किममा देखिएका विभिन्न राजनीतिक, सामाजिक तथा जनसरोकारका विषयमा आम जनतालाई जानकारी गराउँदै सचेत तथा जागरूक बनाउने अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने बताए।
सभापछि जिल्ला अध्यक्षसहित पार्टीका नेताहरू तथा टोलीले राङगाङ याङगाङ क्षेत्रीय पार्टी कार्यालयको भ्रमण तथा निरीक्षण गरे। पार्टी कार्यालयलाई आजदेखि नियमित रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल