राजनीतिमा धन र बाहुबलभन्दा नियत, चरित्र र इमानदारीलाई प्राथमिकता दिनुपर्छ: गणेश राई
सभालाई सम्बोधन गर्दै अध्यक्ष गणेश राई


गान्तोक, 26 अगस्त (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको नाम्ची जिल्लास्तरीय मासिक सभा आज नाम्ची जिल्लास्थित पार्टी कार्यालयमा पार्टी अध्यक्ष गणेश कुमार राईको अध्यक्षतामा सम्पन्न भयो। सभामा नाम्ची जिल्लाअन्तर्गतका सम्पूर्ण एसीईसी अध्यक्षहरू र जिल्लास्तरीय विभिन्न परिषद्हरूले पनि आ-आफ्ना मासिक प्रतिवेदन प्रस्तुत गरे।

आफ्नो सम्बोधनका क्रममा अध्यक्ष राईले पार्टीका विभिन्न तहमा निरन्तर रूपमा सभा तथा संगठनात्मक गतिविधिहरू सञ्चालन भइरहे पनि प्रत्येक सदस्यको सक्रिय तथा निरन्तर सहभागिताले पार्टीलाई सफल बनाउन, संगठनलाई मजबुत बनाउन र पार्टीको प्रचारप्रसारलाई व्यापक बनाउन महत्वपूर्ण योगदान पुगेको उनले बताए।

अध्यक्ष राईले भ्रष्टाचार र अत्याचारले जर्जर बनेको सिक्किमको वर्तमान व्यवस्थामा सुधार ल्याउन पार्टीका सम्पूर्ण सदस्यहरूलाई अझ मजबुत संकल्प, इमानदारी र निष्ठाका साथ काम गर्न आह्वान गरे। उनले राज्यमा व्याप्त अत्याचार, आर्थिक अनियमितता, भ्रष्टाचार तथा करको अनावश्यक बोझबाट सिक्किमका आम नागरिकलाई राहत दिलाउन सिटिजन एक्सन पार्टी-सिक्किम सक्षम रहेको विश्वास नागरिकहरूमा बढ्दै गएको दाबी गरे। उनले सिटिजन एक्सन पार्टी, सिक्किमले सरकार गठन गर्ने अवसर पाएमा सरकार कसरी जनमुखी, पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने कुरा व्यवहारमै देखाउने बताए। उनले धन र बाहुबलभन्दा नियत, चरित्र र इमानदारीलाई राजनीतिमा प्राथमिकता दिनुपर्नेमा जोड दिँदै पार्टीका प्रत्येक सदस्यलाई कुनै पनि परिस्थितिमा चरित्र र इमानदारीलाई पार्टीको पहिचानका रूपमा स्थापित गर्न आग्रह गरे।

सभालाई पार्टीका नेता प्रकाश ठटाल, प्रशान्त बाबु छेत्री, ओङ्डेन लेप्चा, डीबी स्टेफन गुरुङले पनि सम्बोधन गरेका थिए। सभाका क्रममा जिल्ला तथा क्षेत्रीय तहमा पार्टीका विभिन्न पदहरूमा नियुक्ति घोषणा गर्नुका साथै नियुक्तिपत्रसमेत हस्तान्तरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande