
काठमाडौँ, २७ अगस्त (हि.स.)। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत तथा सहायता सामग्री तीव्र गतिमा पुर्याउने कार्य भइरहेको बताएका छन्।
प्रधानमन्त्री शाहका अनुसार, बिहीबार बिहान ६ः३० बजीदेखि नै प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टर उडान शुरु गरिएको हो। बिहानदेखि हालसम्म १५ भन्दा बढी उडान भइसकेका छन् भने थप हेलिकप्टरलाई पनि उडानका लागि तयारी अवस्थामा राखिएको छ।
नेपाली सेनाले बिहीबार बिहान सञ्चालन गरेको उद्धार अभियानअन्तर्गत रसुवाको टिमुरेबाट ११६ जनालाई सुरक्षित उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। सोही अभियानका क्रममा सुरुङभित्र फसेका सात जना नेपाली नागरिकलाई समेत सुरक्षित बाहिर निकालिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
प्रभावित क्षेत्रमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, चिकित्सकीय सामग्री, टेन्ट तथा फलाम र ढुंगा काट्ने मेसिनहरू पुर्याउने कार्य भइरहेको छ। विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क सञ्चालन तथा मोबाइल फोन चार्ज गर्ने अस्थायी व्यवस्था पनि छिट्टै शुरु गरिने प्रधानमन्त्री शाहले बताएका छन्।
उनका अनुसार, नुवाकोटमा अस्थायी शिविर तयार पारिएको छ, जहाँ खाना र पानीको व्यवस्था गरिएको छ। ड्रोन सर्वेमार्फत प्रभावित सबै क्षेत्रको विवरण संकलन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर बिरामी, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने जनाइएको छ।
हिन्दुस्थान समाचार / बिशाल