
काठमाडौँ, २७ अगस्त (हि.स.)। रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नेपालको कुल विद्युत उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ। बाढीले विद्युत उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुर्याएपछि देशको विद्युत आपूर्ति प्रणाली चुनौतीपूर्ण बनेको छ।
प्रारम्भिक विवरणअनुसार, बाढीका कारण ४३१.१ मेगावाट क्षमताका १२ वटा विद्युत उत्पादन केन्द्र पूर्ण रूपमा बन्द भएका छन्। साथै निर्माणाधीन १५ वटा जलविद्युत परियोजना पनि प्रभावित भएका छन्, जसको कुल क्षमता करिब ४७० मेगावाट रहेको छ।
प्रसारण प्रणालीको कुरा गर्नु हो भने त्रिशूली २२० केभी ३बी हब सबस्टेसन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। यसका अतिरिक्त १३२, ६६ र २२० केभीका विभिन्न प्रसारण लाइन तथा टावरहरूमा पनि बाढीले क्षति पुर्याएको छ। बाढीका कारण रसुवा जिल्लामा विद्युत आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ भने नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा विद्युत सेवा आंशिक रूपमा प्रभावित भएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराज भक्त श्रेष्ठका अनुसार, नेपाल विद्युत प्राधिकरणले विद्युतको माग र आपूर्तिबीच सन्तुलन कायम राख्न उच्च प्राथमिकताका साथ काम गरिरहेको छ। हालसम्म विद्युत प्रणालीलाई सन्तुलित राख्न सफलता मिलेको भए पनि बाढीबाट भएको व्यापक क्षतिका कारण आगामी दिनमा थप चुनौतीहरू देखा पर्न सक्ने उनले बताए। त्यसलाई ध्यानमा राख्दै आवश्यक तयारीलाई तीव्रता दिइएको छ।
यसैबीच, विभिन्न विद्युत आयोजना तथा संरचनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी र मजदुरसँग सम्पर्क विच्छेद भएको छ। मन्त्री श्रेष्ठले उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जानकारी दिए।
उद्धार कार्य र विद्युत सेवा पुनःस्थापनाका लागि नेपाल विद्युत प्राधिकरणका १५ भन्दा बढी सवारीसाधन प्रभावित क्षेत्रमा पठाइएको छ। साथै अतिरिक्त उद्धार तथा प्राविधिक टोलीहरू पनि प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
वैकल्पिक माध्यममार्फत विद्युत आपूर्ति पुनः सञ्चालन गर्ने, क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माण गर्ने, र सम्पर्कविहीन कर्मचारी तथा मजदुरहरूको खोजी-उद्धार गर्ने कार्य स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित संस्थाहरूको समन्वयमा भइरहेको छ।
मन्त्री श्रेष्ठले हाल मानवीय सुरक्षा, खोज तथा उद्धार, र अत्यावश्यक विद्युत सेवा पुनःस्थापना लाई सरकारले सर्वोच्च प्राथमिकतामा राखेको बताए। साथै बाढीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन तथा प्राविधिक मूल्याङ्कनको काम पनि जारी रहेको जानकारी दिए।
उनले हालसम्म विद्युत प्रणालीलाई सन्तुलित राख्न सफलता प्राप्त भए पनि ठूलो परिमाणमा भएको क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले विद्युत आपूर्ति प्रणालीलाई सुचारु राख्न आवश्यक तयारी र व्यवस्थापनलाई उच्च प्राथमिकता दिइएको बताए।
हिन्दुस्थान समाचार / बिशाल