नेपाल जलप्रलयः तीन जिल्लाका १६ विद्यालय क्षतिग्रस्त, २३३ विद्यार्थी र १७ शिक्षक बेपत्ता
नेपालमा बाढीले प्रभावित गाउॅं


काठमाडौं, ३१ अगस्त (हि.स.)। भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालका तीन जिल्लाका १६ विद्यालय क्षतिग्रस्त भएका छन् भने २३३ विद्यार्थी र १७ शिक्षक अहिलेसम्म बेपत्ता (सम्पर्कविहीन) छन्।

शिक्षा मन्त्रालयका अनुसार, आइतबारसम्म प्राप्त प्रारम्भिक विवरणमा रसुवा, नुवाकोट र धादिङका १६ विद्यालय पूर्ण रूपमा क्षति भएको जानकारी प्राप्त भएको छ। ती विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकसहित कुल २५० जना सम्पर्कविहीन रहेको बताइएको छ।

प्रारम्भिक तथ्यांकअनुसार, रसुवाका चार, नुवाकोटका आठ र धादिङका चार विद्यालय प्रभावित भएका छन्। रसुवाको उत्तरगया र गोसाइँकुण्ड गाउँपालिका, नुवाकोटको विदुर नगरपालिका तथा धादिङको गल्छी, सिद्धलेक गाउँपालिका र नीलकण्ठ नगरपालिकाका विद्यालयहरूमा क्षति पुगेको छ। मन्त्रालयका अनुसार, यीमध्ये अधिकांश विद्यालय बाढीमा बगेका छन् भने केही विद्यालयका कक्षाकोठामा हिलो, बालुवा र माटो भरिएको छ।

रसुवाका चार विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। त्यसैगरी नुवाकोटका चार विद्यालय पूर्ण रूपमा र चार विद्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। नुवाकोटको विदुर नगरपालिका स्थित आंशिक रूपमा क्षतिग्रस्त चण्डेश्वरी माध्यमिक विद्यालयका १२ विद्यार्थी र एक शिक्षक सम्पर्कविहीन रहेको जानकारी छ।

रसुवाको नवविजयी महेन्द्र माध्यमिक विद्यालयका दुई शिक्षक र कोमी श्यामेवाङ्फेल माध्यमिक विद्यालयका एक शिक्षकसहित १६ विद्यार्थी पनि सम्पर्कविहीन छन्। धादिङमा एउटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने तीन विद्यालयमा आंशिक क्षति पुगेको छ।

उत्तरगया गाउँपालिकाको नीलकण्ठ माध्यमिक विद्यालयको भवनमा क्षति पुगेको छैन, तर विद्यालयका २०० विद्यार्थी र चार शिक्षक सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ। गोसाइँकुण्ड गाउँपालिकाको कोमी श्यामेवाङ्फेल माध्यमिक विद्यालयका १६ विद्यार्थी र एक शिक्षक बाढीमा बेपत्ता भएको जानकारी छ। यस्तै, गोसाइँकुण्ड तीर्थयात्रामा गएका धादिङका चार शिक्षक पनि सम्पर्कविहीन छन्।

मन्त्रालयका अनुसार, रसुवाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका १० शिक्षकहरूमध्ये तीन शिक्षक मात्र सम्पर्कमा छन्। नुवाकोटको त्रिभुवन बहुमुखी क्याम्पस र त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका छात्रावास पनि हिलो माटोमा पुरिएर क्षतिग्रस्त भएका छन्। प्रभावित विद्यालयहरूमध्ये अधिकांश सामुदायिक र केही निजी विद्यालय रहेका छन्। नुवाकोटको त्रिशूली सामुदायिक बोर्डिङ स्कूलका पनि तीन विद्यार्थी सम्पर्कविहीन छन्। मन्त्रालयले बाढीबाट भएको क्षतिको पूर्ण विवरण अझै आउन बाँकी रहेको जनाएको छ।

धेरै विद्यालय बाढीमा बगे

रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। यस विद्यालयमा १०९ विद्यार्थी अध्ययनरत छन्। त्यसैगरी उत्तरगया गाउँपालिकाका चिप्लेटी आधारभूत विद्यालय, मोडर्न ट्रिनिटी बोर्डिङ र मालिकादेवी आधारभूत विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएर बाढीमा बगेका छन्।

नुवाकोटको विदुर नगरपालिका स्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बाढीमा विद्यालयको भवन बगेको छ। यस विद्यालयमा करिब १,६०० विद्यार्थी अध्ययनरत छन्। यद्यपि बाढी आउनुअघि नै सबै विद्यार्थीलाई घर पठाइएको थियो, त्यसैले यहाँ मानवीय क्षति नभएको बताइएको छ।

यसका अतिरिक्त चण्डेश्वरी माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, त्रिशूली सामुदायिक बोर्डिङ, ज्ञानकुञ्ज बोर्डिङ, उत्तरगया पब्लिक इङ्लिस स्कूल, जेडी बोर्डिङ स्कूल र पायोनियर बोर्डिङ स्कूलमा पनि क्षति पुगेको छ। धादिङको गल्छी गाउँपालिकास्थित बागेश्वरी माध्यमिक विद्यालय, सक्सेस एकेडेमी, अमलेश्वर गुरुकुल संस्कृत विद्यालय र जलेश्वर माध्यमिक विद्यालय पनि बाढीबाट प्रभावित भएका छन्।

शिक्षा तथा खेलकुद मन्त्रालयले क्षति र सम्पर्कविहीन व्यक्तिहरूको अन्तिम तथ्यांक अझै स्पष्ट नभएको जनाएको छ। प्रभावित क्षेत्रमा सम्पर्क तथा पहुँचको समस्या रहेकाले विस्तृत विवरण संकलन गर्ने काम जारी रहेको मन्त्रालयले बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande