खाद्यान्न, खानेपानी, जीवनरक्षक औषधि, आश्रय सामग्रीले भरिएका तीनवटा ठूला लिएर एसकेएम टोली नेपाल प्रस्थान
खाद्यान्न, खानेपानी, जीवनरक्षक औषधि, आश्रय सामग्रीले भरिएका तीनवटा ठूला लिएर एसकेएम टोली नेपाल प्रस्थान


गान्तोक, ३१ अगस्त (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सोमबार बिहान गान्तोकस्थित रिज पार्कबाट नेपालमा भीषण बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि आपतकालीन राहत टोली तथा राहत सामग्री बोकेका सावरी साधनहरूलाई औपचारिक रूपमा झण्डा देखाएर प्रस्थान गराए।

सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) द्वारा ‘सिक्किम फर नेपाल’ पहलअन्तर्गत आयोजित यस आपदा राहत अभियानको उद्देश्य व्यापक जनधनको क्षति, विस्थापित तथा पूर्वाधारमा भएको क्षतिबाट प्रभावित परिवारलाई तत्काल स्थलमै पुगेर सहयोग उपलब्ध गराउनु हो।

रिज पार्कमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लगायत विधायक तथा एसकेएम युवा मोर्चाका उपाध्यक्ष एवं प्रभारी सन्जित खरेल, मेयर छिरिङ पाल्देन भोटिया, डेपुटी मेयर सारा लामा, मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, राज्यस्तरीय युवा मोर्चाका अध्यक्ष लाक्पा मोक्तान, एसकेएम पार्टी मुख्यालयका जनसम्पर्क सचिव जुनु क्षेत्री, एसकेएम प्रचार प्रसार शाखाकी अध्यक्ष रञ्जना प्रधान तथा पार्टीका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

एसकेएमले आज जारी प्रेस विज्ञप्तिमा भनेको छ, ‘सिक्किम फर नेपाल’ अभियानअन्तर्गत एसकेएमद्वारा आयोजित यो मानवीय अभियान नेपालमा व्यापक विनाश भएको अवस्थामा अघि बढाइएको हो। बाढीले ठूलो संख्यामा मानिसहरूको ज्यान गएको छ भने धेरै घरहरू बगाएगा छन्। मुख्यमन्त्री तामाङले छोटो समयमै आपतकालीन राहत सामग्री जुटाउन सक्रिय भूमिका निर्वाह गर्ने स्वयंसेवक, पार्टी सदस्य तथा सर्वसाधारण योगदानकर्ताहरूको प्रशंसा गरे।

टोलीलाई प्रस्थान गराउने क्रममा मुख्यमन्त्री तामाङले आपदामा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै पीडितहरूप्रति ऐक्यबद्धता जनाए। उनले कठिन परिस्थितिमा सीमापारिका आफ्ना दाजुभाई तथा दिदीबहिनीहरूसँग सिक्किम काँधमा काँध मिलाएर उभिएको बताए।

प्रारम्भिक सहायता प्याकेजअन्तर्गत खाद्यान्न, स्वच्छ खानेपानी, जीवनरक्षक औषधि तथा आपतकालीन आश्रय सामग्री र कम्बलले भरिएका तीन वटा ठूला ट्रक प्रस्थान गराइएको छ। राहत सामग्री बोकेको टोली नेपालका सबैभन्दा बढी प्रभावित क्षेत्रतर्फ सिधै जाने बताइएको छ।

चिकित्सा विशेषज्ञ, आपतकालीन उद्धारकर्मी तथा स्वयंसेवकहरूको समर्पित टोलीद्वारा सञ्चालन हुने यस अभियानको उद्देश्य राहत सामग्री पुर्‍याउनु मात्र नभई आपदाबाट प्रभावित परिवारलाई सान्त्वना, आत्मीयता र उनीहरू आफ्नो संघर्षमा एक्ला छैनन् भन्ने भरोसा दिलाउनु पनि रहेको एसकेएमले बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande