एसडीएफ पार्टीको गेजिङ जिल्ला समितिको सभा सम्पन्न
एसडीएफ पार्टीको गेजिङ जिल्ला समितिको सभा सम्पन्न


गान्तोक, ३१ अगस्त (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको गेजिङ जिल्ला समितिले आज एउटा महत्त्वपूर्ण सभा जिल्ला कार्यालयमा आयोजित गऱ्यो। सभा जिल्ला समितिका अध्यक्ष दिपेन गुरुङको अध्यक्षतामा सम्पन्न भएको सभाको उद्देश्य सङ्गठनलाई तृणमूल स्तरमा विस्तार गर्न छलफल गर्नु थियो।

सभामा पार्टीले जनतासँग सहकार्य गरी जनताले रोजेको नेतृत्व र खोजेको नीति कार्यक्रमहरू पुनर्वहाल गराउन पवन चाम्लिङलाई पुनः सरकारमा ल्याउन जोड तोडले लाग्नुपर्ने कुरा उठाएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, एसडीएफ पार्टी सरकारमा ल्याउनासाथ स्वतः जनताराज फर्केर आउँछ, जनतालाई हेप्ने र जनताका शत्रुलाई चेप्नेहरू स्वतः थान्को लाग्ने छन्। यही नै सिक्किमको राजनीतिक सत्य हो भनी पार्टीले जन-जनलाई बुझाउनुपर्छ भन्ने कुरामा वक्ताहरु एकमत भए।

सभामा केन्द्रिय कार्यकारिणी समितिका उपाध्यक्ष तथा गेजिङ जिल्लाका सङ्गठन प्रभारी कर्मा ओङचुक लेप्चा, गेजिङ जिल्लाका युवा प्रभारी विशाल राई, उपाध्यक्ष तथा चेली मोर्चा प्रभारी मुनाहाङमा लिम्बू, गेजिङ जिल्ला समितिका प्रवक्ता एमबी माबो, उपाध्यक्ष तुलशी सुन्दासलगायत पार्टीका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande