नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा ३५औँ नेपाली भाषा मान्यता दिवस पालन
नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा ३५औँ नेपाली भाषा मान्यता दिवस पालन


गान्तोक, ३१ अगस्त (हि.स.)। नरबहादुर भण्डारी सरकारी महाविद्यालय, तादोङमा ३५औँ नेपाली भाषा मान्यता दिवस विविध कार्यक्रमका साथ पालन गरिएको छ। महाविद्यालयको वार्षिक गतिविधिअन्तर्गतको प्रमुख कार्यक्रमका रूपमा नेपाली विभागको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाली भाषा, साहित्य तथा शिक्षाको विकाससँगै सङ्घ लोकसेवा आयोग परीक्षामा नेपाली विषयको सम्भावना र तयारीका विविध पक्षमाथि विशेष परिचर्चा गरिएको थियो।

महाविद्यालयको प्रायोजनमा आयोजित कार्यक्रममा साहित्य अकादमी पुरस्कारबाट सम्मानित वरिष्ठ साहित्यकार तथा सिक्किम रूपान्तरण संस्थानका उपाध्यक्ष सीपी भट्टराई मुख्य अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा महाविद्यालयका प्राचार्य प्रो डा. देवव्रत पुरोहित, पङ्कज थापा, मुन्ना प्रधान, अञ्जना शर्मा, सुजाता पुरोहित तथा शरद पौड्याल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

नेपाली विभागका विभागाध्यक्ष डा. उदय छेत्रीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्य र उद्देश्यबारे प्रकाश पारे। उनले नेपाली भाषा मान्यताको ऐतिहासिक उपलब्धिलाई स्मरण गर्दै भाषा संरक्षण, संवर्द्धन र प्रयोगको दायित्व वर्तमान पिँढ़ीले गम्भीरतापूर्वक ग्रहण गर्नुपर्ने बताए। विशेषतः विद्यार्थी तथा युवा पिँढ़ीमाझ नेपाली भाषाको महत्त्व, सम्भावना र प्रयोगको क्षेत्र विस्तार गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको उनले स्पष्ट पारे।

कार्यक्रमका मुख्य अतिथि सीपी भट्टराईले आफूलाई भव्य अभिनन्दन गरेकामा महाविद्यालय परिवारप्रति आभार व्यक्त गर्दै नेपाली भाषा तथा साहित्यको विकासका लागि युवा पिँढ़ीको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले सङ्घ लोकसेवा आयोगको परीक्षामा नेपाली विषय लिएर सहभागी हुन चाहने अभ्यार्थीहरूलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, ‘विकसित सिक्किम २०४७’ को लक्ष्यअन्तर्गत सिक्किमबाट २५ जना आईएएस तथा आईपीएस अधिकारी उत्पादन गर्ने लक्ष्यतिर समेत सामूहिक रूपमा अघि बढ़्नुपर्ने धारणा व्यक्त गरे।

नेपाली भाषा मान्यताको ऐतिहासिक पृष्ठभूमि चर्चा गर्ने क्रममा भट्टराईले पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारी तथा पूर्व सांसद दिलकुमारी भण्डारीको महत्त्वपूर्ण योगदानको स्मरण गरे। नेपाली भाषाले संवैधानिक मान्यता प्राप्त गरिसकेको वर्तमान अवस्थामा मान्यताको उपलब्धिमा मात्र सीमित नभई त्यससँग जोड़िएका दायित्वलाई समेत बुझेर भाषा, साहित्य र शिक्षाको क्षेत्रमा परिणाममुखी काम गर्नुपर्ने उनले बताए। सिक्किम, दार्जिलिङ तथा अन्य स्थानका महाविद्यालय र विश्वविद्यालयहरूमा समेत नेपाली विषय र सङ्घ लोकसेवा आयोगको परीक्षासम्बन्धी चर्चा–परिचर्चा तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्नुपर्ने उनको सुझाव थियो।

कार्यक्रममा महाविद्यालयका प्राचार्य प्रो डा. देवव्रत पुरोहितद्वारा रचित अङ्ग्रेजी कविता सङ्ग्रह 'फर्स्ट लभ'-को विधिवत् विमोचनसमेत गरियो। लोकार्पित कविता सङ्ग्रहमाथि डा. हरजीत गोस्वामीले निरूपणात्मक टिप्पणी प्रस्तुत गरे। कार्यक्रमको अर्को प्रमुख आकर्षणका रूपमा सङ्घ लोकसेवा आयोग परीक्षा र नेपाली विषय विषयक परिचर्चा आयोजना गरिएको थियो। परिचर्चामा वरिष्ठ पत्रकार तथा साहित्यकार भीम राउत र प्रवीण खालिङ, कञ्चनजङ्घा राज्य विश्वविद्यालयका सहायक प्राध्यापकद्वय डा. सुचन प्रधान र ड. रतन रसाइली तथा युवा उद्यमी प्रियदर्शनी निरौला सहभागी थिए। परिचर्चाको सहजीकरण ड. टेकबहादुर छेत्रीले गरेका थिए।

कार्यक्रममा मुख्य अतिथि तथा अभिनन्दित व्यक्तित्व सीपी भट्टराईलाई उपस्थित विशिष्ट अतिथिहरू तथा कलेज परिवारका पक्षबाट पुष्पपत्रदल वृष्टिसहित दोसल्ला, महाविद्यालयको स्मृतिचिह्न तथा अभिनन्दन पत्रद्वारा सम्मान तथा अभिनन्दन गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande