
नयाँ दिल्ली, 10 सेप्टेम्बर (हि.स.)। देशमा वर्षा र चाडपर्वको बढ्दो मागका कारण सर्वसाधारणको भान्साको स्वादसँगै बजेट पनि प्रभावित भएको छ। भान्साको मुख्य सामग्री मानिने प्याजको मूल्य अहिले चिनीको मूल्यसँग प्रतिस्पर्धा गर्न थालेको छ।
दिल्ली-एनसीआरमा प्रतिकिलो ४० रुपियाँमा बिक्री हुँदै आएको प्याजको खुद्रा मूल्य बढेर ६५ देखि ७० रुपियाँसम्म पुगेको छ। खुद्रा बजारमा चिनी पनि प्रतिकिलो ७० रुपियाँमा बिक्री भइरहेको छ। यद्यपि सरकारले प्याज र चिनीको मूल्य घटाउन तथा आपूर्ति बढाउन प्रयास भइरहेको जनाएको छ।
एसियाकै सबैभन्दा ठूलो थोक फलफूल तथा तरकारी बजार आजादपुरको प्याज व्यवसायी संघका अध्यक्ष राजेन्द्र शर्माले बिहीबार हिन्दुस्थान समाचारलाई दिएको जानकारीअनुसार, बजारमा प्याज प्रतिकिलो ३५ देखि ५० रुपियाँसम्मको थोक मूल्यमा बिक्री भएको छ। उनका अनुसार, हाल प्याजको आवकमा कुनै समस्या छैन।
शर्माले बजारमा प्याज प्रतिकिलो २५ देखि ५० रुपियाँसम्म बिक्री भइरहेको बताए। सामान्यतया थोक बजारमा ३५-४० रुपियाँ प्रतिकिलो पर्ने प्याज खुद्रा बजारमा बिक्री हुने गरेको छ भने ५० रुपियाँ प्रतिकिलो पर्ने प्याज मुख्यतः होटलहरूमा आपूर्ति हुने गरेको उनले बताए।
देशका विभिन्न भागमा तरकारीको मूल्य तीव्र रूपमा बढ्न थालेको छ। मनसुन शुरु हुन ढिलाई तथा कमजोर वर्षाका कारण तरकारी उत्पादन प्रभावित भएको थियो। त्यसपछि मनसुनको चौथो चरणमा भइरहेको भारी वर्षाले बजारसम्म तरकारीको आपूर्तिमा समेत असर पारेको छ। मागको तुलनामा आपूर्ति कम हुँदा यसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सा र बजेटमा परेको छ।
यसैबीच, बढ्दो महँगी नियन्त्रण गर्न केन्द्र सरकारले आफ्नो
बफर स्टकबाट देशका केही शहरमा प्रतिकिलो ३५ रुपियाँको सहुलियत दरमा प्याज बिक्री गरिरहेको दाबी गरेको छ। तर दिल्ली-एनसीआरका अधिकांश क्षेत्रमा यस्तो सहुलियतको प्याजको आपूर्ति तथा बिक्री प्रभावकारी रूपमा देखिएको छैन।
उल्लेखनीय छ, सरकारले शुरुआती १० दिनमा करिब १७ देखि १९ शहरमा बफर स्टक करिब ४ हजार टन प्याज बिक्री गरेको जनाएको छ। सहुलियत मूल्यको उक्त प्याज राष्ट्रिय उपभोक्ता सहकारी महासंघ, मदर डेरीका सफल स्टोर, राष्ट्रिय कृषि सहकारी बजार व्यवस्थापन महासंघ तथा केन्द्रिय भण्डारका बिक्री केन्द्र र चल्तीका बिक्री गाडीमार्फत बिक्री भइरहेको छ।
हिन्दुस्थान समाचार / बिशाल