
दिग्गज पटकथा लेखक तथा अभिनेता सलमान खानका पिता सलीम खानलाई हिन्दी सिनेमामा उल्लेखनीय योगदानका लागि प्रतिष्ठित राज कपूर लाइफटाइम अचिभमेन्ट पुरस्कारबाट सम्मानित गरिएको छ। सलीम खानका तर्फबाट उनकी पत्नी तथा अभिनेत्री हेलनले उक्त सम्मान ग्रहण गरिन्।
यस अवसरमा हेलनले महाराष्ट्र सरकारप्रति आभार व्यक्त गर्दै सलीम साहेबका लागि यो अत्यन्त विशेष सम्मान रहेको बताइन्। उनले हिन्दी चलचित्र क्षेत्रमा स्मरणीय कथा तथा संवादमार्फत सलीम खानले आफ्नो छुट्टै पहिचान बनाएको उल्लेख गरिन्।
सञ्चारमाध्यमसँग कुराकानी गर्दै हेलनले सम्मानको जानकारी पाएपछि सलीम खानले आफूलाई माया गर्ने तथा निरन्तर समर्थन गर्ने सबैप्रति आभार व्यक्त गरेको बताइन्। सलीम खानका तर्फबाट पुरस्कार ग्रहण गर्न पाउँदा आफू निकै खुशी भएको पनि उनले बताइन्। उनले सलीमले लेखेका सबै चलचित्र आफूलाई मनपर्ने बताइन्।
सलीम खानले सन् १९७० को दशकमा जावेद अख्तरसँग मिलेर ‘शोले’, ‘जन्जीर’, ‘दीवार’, ‘डन’ र ‘त्रिशूल’ लगायत थुप्रै स्मरणीय चलचित्र हिन्दी सिनेमालाई दिएका छन्। उनीहरूको जोडीले कथा, पटकथा र प्रभावशाली संवादमार्फत चलचित्रमा लेखकको भूमिकालाई नयाँ पहिचान दिलाएको थियो।
सलीम खान चलचित्रका पोस्टर तथा प्रचार सामग्रीमा पटकथा लेखकलाई उचित श्रेय र सम्मान दिनुपर्ने आवाज उठाउने शुरुआती लेखकहरूमध्ये एक पनि थिए।
हिन्दुस्थान समाचार / बिशाल