मङ्पुमा 'भारतीय नेपाली साहित्यमा पर्वतीय लोक संस्कृतिको प्रतिबिम्ब’ विषयक एकदिवसीय संगोष्ठी सम्पन्न
Darjeeling hill university


मङ्पु, 12 सेप्टेम्बर (हि.स.)। साहित्य अकादमी, भारत सरकारको संस्कृति मन्त्रालय तथा दार्जिलिङ पर्वतीय विश्वविद्यालय, मङ्पुको संयुक्त आयोजनामा ‘भारतीय नेपाली साहित्यमा पर्वतीय लोक संस्कृतिको प्रतिबिम्ब’ विषयक एकदिने संगोष्ठी शनिबार विश्वविद्यालयको सेमिनार हलमा सम्पन्न भयो।संगोष्ठीमा भारतीय नेपाली साहित्यमा पर्वतीय क्षेत्रको लोकजीवन, संस्कृति, परम्परा, मौलिकता तथा सामाजिक परिवेश कसरी प्रतिबिम्बित हुँदै आएको छ भन्ने विषयमा विभिन्न कोणबाट गहन चर्चा गरियो। साहित्यकार, प्राध्यापक, शोधकर्ता तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा पर्वतीय लोक संस्कृतिका मौलिक पक्षको संरक्षण, अध्ययन तथा नयाँ पुस्तासम्म यसको महत्त्व र मौलिकता पुर्‍याउने विषयमा जोड दिइयो।कार्यक्रममा विश्वविद्यालयकी उपकुलपति तेजिमाला गुरुङ, रजिस्ट्रार सुजातारानी राई तथा साहित्यकार आशा (मुखिया) लामा र डा. सञ्जय बान्तावाको बाहुलीबाट कार्यपत्र प्रस्तुतकर्ता डा. अरुणा राई, प्राध्यापक डा. कबीर बस्नेत, डा. ज्ञानेन्द्र सुब्बा र उदय थुलुङलाई प्रमाणपत्र प्रदान गरियो।कार्यक्रमको पहिलो सत्रको अध्यक्षता डा. सञ्जय बान्तावाले गरेका थिए। दोस्रो सत्रमा साहित्यकार बिन्ध्या सुब्बाको अध्यक्षतामा कवि गोष्ठी आयोजना गरियो। डा. मौसम शर्माले सञ्चालन गरेको गोष्ठीमा सुरेन्द्र थीङ, देवलाल मोक्तान, प्रमिला मुखिया, पुष्कर सिङ्गर तथा नमिता राईले आफ्ना कविता वाचन गरे। अन्त्यमा डा. महेश दाहालले अतिथि, साहित्यकार, प्राध्यापक, शोधकर्ता तथा साहित्यप्रेमीहरूप्रति धन्यवाद ज्ञापन गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande