
गान्तोक, 12 सेप्टेम्बर (हि.स.)। विद्या भारती सिक्किमले सिक्किम राज्य तथा दार्जिलिङ र कालिम्पोङ जिल्लाअन्तर्गतका सम्पूर्ण विद्यालय तथा सरस्वती संस्कार केन्द्रहरूमा आगामी २५ सेप्टेम्बर, २०२६ बिहान ११ बजी सामूहिक वन्दे मातरम् गायन कार्यक्रम आयोजना गर्ने भएको छ।
वन्दे मातरम् रचनाको १५०औँ वर्षगाँठका अवसरमा देशभर एकै समयमा एक कण्ठ र एक सुरमा वन्दे मातरम् गायन गर्ने राष्ट्रव्यापी कार्यक्रमअनुसार सिक्किममा पनि कार्यक्रम आयोजना गर्न लागिएको हो। विद्या भारतीले देशभक्त नागरिकहरूलाई आफ्नो नजिकको विद्या भारती विद्यालयमा उपस्थित भई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।
विद्या भारती सिक्किमका कार्यालय सचिव सूर्य धितालले आज जारी प्रेस विज्ञप्तिमा वन्दे मातरम् स्वतन्त्रता आन्दोलनका क्रममा लाखौँ देशभक्तलाई प्रेरित गर्ने राष्ट्रिय एकताको प्रतीकका रूपमा रहेको उल्लेख गरेका छन्। उनले विद्या भारतीले यसको १५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा सामूहिक गायनमार्फत यसको महत्त्वलाई पुनर्जीवित गर्ने उद्देश्य रहेको बताएका छन्। २५ सेप्टेम्बर पण्डित दीनदयाल उपाध्यायको जयन्तीसमेत भएकाले सोही दिन कार्यक्रम तय गरिएको उनको भनाई छ।
कार्यालय सचिव धितालका अनुसार, विद्या भारती सिक्किम प्रान्तले स्वतन्त्रताको ८०औं वर्ष, सिक्किम राज्यको स्वर्ण जयन्ती, संघको शताब्दी वर्ष, विद्या भारती सिक्किमको रजत जयन्ती मनाइसकेको छ भने विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको आगामी वर्ष अमृत महोत्सव (75 वर्ष) मनाउने तयारीमा रहेको छ।
गत ७ नोभेम्बर, २०२५ देखि ७ नोभेम्बर, २०२६ सम्म देशव्यापी रूपमा सञ्चालन भइरहेको वन्दे मातरम् १५०औँ वर्षगाँठ कार्यक्रमअन्तर्गत विद्या भारती सिक्किमले विद्यालयस्तरमा विभिन्न कार्यक्रम गर्दै आएको छ। सामूहिक गायन कार्यक्रमलाई सफल बनाउन सिक्किम प्रान्त संयोजक मोहन शर्माको समन्वयमा सन्देश, उद्देश्य, ढाँचा, रूपरेखा तथा नियमहरू तय गरी तयारी भइरहेको छ।
विद्या भारती सिक्किम प्रान्तका सम्पूर्ण कार्यकारिणी समिति, जिल्ला संयोजकहरूको रूपमा मनोनित भई कार्य विभाजनका साथ समाजका वरिष्ठ व्यक्तित्वहरू, सामाजिक संस्थाहरू, शुभचिन्तकहरू तथा पूर्व विद्यार्थीहरूलाई समाजद्वारा सञ्चालित, समाजद्वारा पोषित र समाजके निम्ति खडा गरिएका विद्यालयहरूमा उपस्थित भई कार्यक्रमको विशेषतालाई अझ गहिराइमा बुझन कार्यक्रममा उपस्थिती जनाउन विशेष आह्वान तथा समन्वय गरिरहेको धितालले जानकारी गराएका छन्।
विद्या भारती सिक्किमले समाजका वरिष्ठ व्यक्तित्व, सामाजिक संस्था, शुभचिन्तक तथा पूर्वविद्यार्थीहरूलाई कार्यक्रममा सहभागी गराउन जिल्ला संयोजक तथा कार्यकारिणी सदस्यहरूमार्फत समन्वय गरिरहेको उनले बताएका छन्। देशभर करोडौँ मानिसलाई एकै समयमा वन्दे मातरम् गायनमा सहभागी गराई विश्व कीर्तिमान कायम गर्ने अभियानमा विद्या भारती सिक्किम पनि सक्रिय रूपमा सहभागी भइरहेको उनले उल्लेख गरेका छन्।
उनले यस राष्ट्रिय महत्त्वको कार्यक्रममा योगदान पुऱ्याउन आफ्नो नजिकको विद्या भारती विद्यालयमा उपस्थित भई सहभागी हुन विनम्र अनुरोध गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल