
पेलिङ, 12 सेप्टेम्बर (हि.स.)। शान्ति, करुणा तथा सम्पूर्ण प्राणीको कल्याणका लागि समर्पित चौथो वार्षिक मणि डुङ्द्रुप छेनमो २०२६ शनिबार गेजिङ जिल्लाको पेलिङस्थित चेरेजी सिङ्खाम रिवो पोटालामा शुरु भएको छ। सिक्किम सरकारको धर्म विभागद्वारा मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्व तथा धर्ममन्त्री सोनाम लामाको मार्गदर्शनमा आयोजना गरिएको यो सातदिने धार्मिक अनुष्ठान १८ सेप्टेम्बरमा सम्पन्न हुनेछ।
उद्घाटन कार्यक्रममा धर्म विभागकी सचिव किन्चो डोमा लेप्चा, गेजिङका जिल्लापाल तेन्जिङ डी. डेनजोङ्पा, वरिष्ठ पुलिस उपरीक्षक पारु रुचललगायत अधिकारी, कर्मचारी तथा श्रद्धालुहरूको उपस्थिति थियो। क्याब्जे लाचुङ रिन्पोछे र युक्समका खेन्त्से टुल्कुको आध्यात्मिक मार्गदर्शनमा सिक्किमका विभिन्न गुम्बाका भिक्षुहरू सहभागी भई मणि मन्त्रलगायत पवित्र प्रार्थनाको सामूहिक पाठ गरिरहेका छन्।
यस वर्षको प्रार्थना नेपालमा हालै आएको बाढीबाट ज्यान गुमाएकाहरूको आत्मशान्ति, शोकसन्तप्त परिवारलाई शक्ति तथा प्रभावित समुदायको सुरक्षा र शीघ्र पुनःस्थापनाका लागि विशेष रूपमा समर्पित गरिएको छ। धर्म विभागले यस अनुष्ठानले सिक्किमको धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै शान्ति, करुणा, एकता र सद्भावको भावनालाई सुदृढ बनाउने जनाएको छ।
हिन्दुस्थान समाचार / बिशाल