
उज्जैन, १४ सेप्टेम्बर (हि.स.)। मध्य प्रदेशको उज्जैनस्थित विश्वप्रसिद्ध श्री महाकालेश्वर मन्दिरमा सोमबार बिहान भस्म आरतीका क्रममा गणेश चतुर्थीको अवसरमा भगवान महाकालको विशेष शृंगार गरिएको छ। मन्दिरका ढोका बिहान ४ बजी खोलिएका थिए। पण्डा-पुजारीहरूले गर्भगृहमा स्थापित देवी-देवताको पूजा गरी भगवान महाकालको जलाभिषेक गरेका थिए। त्यसपछि दूध, दही, घिउ, मह, चिनी तथा फलफूलको रसबाट तयार पारिएको पञ्चामृतले अभिषेक तथा पूजा गरियो।
गणेश चतुर्थीका अवसरमा बाबा महाकाललाई रजत आभूषण धारण गराइयो। भाङ र चन्दनले लेपन गरी त्रिपुण्ड लगाइएको थियो। त्यसपछि भगवानलाई गणेश स्वरूपमा आकर्षक शृंगार गरिएको थियो। मोगरा र गुलाबका सुगन्धित फूलसँगै रुद्राक्ष तथा पुष्पमालाले बाबा महाकालको शृंगार गरियो।
भस्म अर्पण गर्नुअघि प्रथम घण्टाल बजाएर मन्त्र उच्चारणका बीच भगवानको ध्यान गरियो। हरिओमको जल अर्पण गरेपछि कपूर आरती गरियो। त्यसपछि ज्योतिर्लिङ्गलाई वस्त्रले ढाकेर भस्म अर्पण गरियो। महा निर्वाणी अखाडाको तर्फबाट भगवान महाकाललाई भस्म अर्पण गरियो। भस्म आरतीपछि बाबालाई शेषनागको रजत मुकुट, रजत मुण्डमाला तथा रुद्राक्षको माला धारण गराइएको थियो।
भस्म आरतीका क्रममा ठूलो संख्यामा श्रद्धालुहरू मन्दिर पुगेका थिए। बाबा महाकालको गणेश स्वरूपको दर्शन गरी श्रद्धालुहरूले आशीर्वाद लिए। भगवानलाई फलफूल तथा मिठाईको भोग चढाइएको थियो। श्रद्धालुहरूले नन्दी महाराजको दर्शन गरी उनको कानमा आफ्ना मनोकामना सुनाए। यस क्रममा मन्दिर परिसर बाबा महाकालका जयजयकारले गुञ्जायमान भएको थियो।
महाकाल मन्दिरको परम्परामा भस्म आरतीको विशेष महत्व रहेको छ। धार्मिक मान्यताअनुसार, भस्म अर्पण गरेपछि भगवान महाकाल निराकारबाट साकार स्वरूपमा भक्तहरूलाई दर्शन दिने गर्दछन्। यही आस्थाका साथ श्रद्धालुहरू भस्म आरतीमा सहभागी भई बाबा महाकालको दर्शन गर्ने गर्दछन्।
हिन्दुस्थान समाचार / भवानी थामी