
नयाँ दिल्ली, १४ सेप्टेम्बर (हि.स.)। गणेश चतुर्थीको पावन अवसरमा राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, रक्षामन्त्री राजनाथ सिंह तथा अन्य केन्द्रिय मन्त्रीहरूले देशवासीलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन्। नेताहरूले भगवान गणेशसँग देशमा सुख, शान्ति, समृद्धि र खुसीको कामना गरेका छन्।
राष्ट्रपति द्रौपदी मुर्मूले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत देश तथा विदेशमा रहेका सबै भारतीयलाई गणेश चतुर्थीको शुभकामना दिइन्। उनले भगवान श्री गणेश बुद्धि, विवेक, समृद्धि र शुभारम्भका प्रतीक रहेको बताइन्। गणेश चतुर्थीको पर्वले जीवनमा ऊर्जा, ज्ञान र सकारात्मकताको सञ्चार गर्नुका साथै नयाँ संकल्पका साथ प्रगतिको मार्गमा अघि बढ्ने प्रेरणा दिने उनले बताइन्। उनले भगवान गणेशसँग सबैको जीवनमा सुख-शान्ति, उत्तम स्वास्थ्य र समृद्धिको कामना गरिन्।
उपराष्ट्रपति सीपी राधाकृष्णनले भगवान गणेशलाई विघ्नहर्ता तथा ज्ञानका प्रतीक बताउँदै उहाँले सबैलाई शान्ति, समृद्धि र खुशीको आशीर्वाद प्रदान गरून् भन्ने कामना गरे। उनले जनतालाई विश्वास र दृढ संकल्पका साथ प्रत्येक बाधा पार गर्ने प्रेरणा लिन आग्रह गरे।
लोकसभा अध्यक्ष ओम बिरलाले भगवान गणेशले सबैको जीवनबाट विघ्न-बाधा हटाएर सुख, शान्ति, समृद्धि तथा आरोग्य प्रदान गरून् भन्ने कामना गरे। भगवान गणेशको आशीर्वादले राष्ट्रको प्रगति तथा जनकल्याणको संकल्पलाई नयाँ ऊर्जा प्रदान गरोस् भन्ने उनले बताए।
रक्षामन्त्री राजनाथ सिंहले भगवान गणेश ज्ञान, विवेक, समृद्धि र शुभारम्भका प्रतीक रहेको बताए। उनले यो पर्वले भारतीयहरूलाई आफ्नो सनातन संस्कृति तथा परम्परासँग जोडिइरहनुका साथै समाजमा एकता, सद्भाव र सहयोगको भावना अझ सुदृढ बनाउने प्रेरणा दिने बताए।
केन्द्रिय गृहमन्त्री अमित शाहले गणपति बप्पाको कृपाले सबैको जीवनमा सुख, समृद्धि र मंगलको वास होस् भन्ने कामना गरे।
केन्द्रिय सडक परिवहन तथा राजमार्गमन्त्री नितिन गडकरीले भगवान गणेशसँग सबैमाथि आफ्नो कृपा कायम राख्न प्रार्थना गर्दै ‘गणपति बप्पा मोरया’ को जयघोष गरे।
संसदीय कार्यमन्त्री किरेन रिजिजूले ‘वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ। निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा॥’ मन्त्र उल्लेख गर्दै भगवान गणेशसँग सबैको जीवनमा खुशी, समृद्धि, शान्ति र सफलता ल्याउन तथा सबै बाधा हटाउन प्रार्थना गरे।
केन्द्रिय स्वास्थ्य मन्त्री जेपी नड्डाले पनि भगवान गणेशसँग देशवासीको जीवनमा खुशी, शान्ति, सौभाग्य र समृद्धिको सञ्चार होस् भन्ने कामना गरे।
केन्द्रिय पर्यावरणमन्त्री भूपेन्द्र यादवले पनि गणेश चतुर्थीको शुभकामना दिँदै विघ्नहर्ता श्री गणेशको कृपाले सबैको जीवनमा सुख, समृद्धि, शान्ति र सफलता प्राप्त होस् भन्ने कामना गरे।
हिन्दुस्थान समाचार / भवानी थामी