सिक्किम विधानसभा प्रतिनिधिमण्डलद्वारा ४२औँ सीपीए साना शाखा सम्मेलनमा सहभागिता
सिक्किम विधानसभा प्रतिनिधिमण्डलद्वारा ४२औँ सीपीए साना शाखा सम्मेलनमा सहभागिता


गान्तोक, १५ सेप्टेम्बर (हि.स.)। सिक्किम विधानसभाका अध्यक्ष मिङ्मा नर्बु शेर्पा, उपाध्यक्ष राजकुमारी थापासहित वरिष्ठ अधिकारीहरूले १४ सेप्टेम्बर, २०२६ मा दक्षिण अफ्रिकाको केप टाउन अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित ४२औँ राष्ट्रमण्डल संसदीय संघ (सीपीए) साना शाखा सम्मेलनमा सहभागिता जनाएका छन्। सम्मेलनको उद्घाटन सत्रको उद्घाटन अध्यक्ष भ्यालेरी वुड्सले गरेकी थिइन्। कार्यक्रममा राष्ट्रमण्डलभरिका ५० भन्दा बढी साना शाखाका प्रतिनिधिहरू सहभागी भएका थिए।

सिक्किम विधानसभाले मंगलवार बिहान जारी एक प्रेस विज्ञप्तिमा उक्त जानकारी गराएको छ। उद्घाटन सत्रपछि ‘साना क्षेत्राधिकारमा शक्तिको पृथकीकरणको महत्त्व तथा संसदीय बजेट कार्यालयलाई सहयोग’ विषयमा कार्यशाला आयोजना गरिएको थियो। ४२औँ सीपीए साना शाखा सम्मेलन ‘राष्ट्रमण्डलमा स्वतन्त्र र सक्षम संसद्लाई सहयोग’ भन्ने विषयवस्तुमा आयोजना भइरहेको बताइएको छ।

सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापाले केप टाउन अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित राष्ट्रमण्डल महिला सांसदहरूको बैठक तथा कार्यशालामा पनि सहभागिता जनाइन्। साँझ प्रतिनिधिमण्डलले केप टाउन अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमै आयोजित ६९औँ राष्ट्रमण्डल संसदीय सम्मेलनको औपचारिक उद्घाटन समारोह तथा स्वागत समारोहमा सहभागिता जनायो।

दक्षिण अफ्रिका गणतन्त्रको संसद्ले राष्ट्रमण्डल संसदीय संघसँगको सहकार्यमा आयोजना गरेको ६९औँ राष्ट्रमण्डल संसदीय सम्मेलनको थीम ‘परिवर्तनशील विश्व व्यवस्थामा अन्तरराष्ट्रिय कानुन र संसदीय लोकतन्त्रको सुदृढीकरण: राष्ट्रमण्डलको नेतृत्व’ रहेको छ।

यी सम्मेलनहरूमा सिक्किम विधानसभाको प्रतिनिधिमण्डलको सहभागिताले संसदीय सहकार्य सुदृढ गर्न तथा लोकतान्त्रिक संस्था, विधायिकी स्वतन्त्रता, शक्तिको पृथकीकरण र साना क्षेत्राधिकारका संसद्हरूको सबलीकरणसम्बन्धी अनुभव आदानप्रदान गर्न महत्वपूर्ण मञ्च प्रदान गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande