
गान्तोक, 15 सेप्टेम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश कुमार राईले राष्ट्रिय इन्जिनियर दिवसको अवसरमा सिक्किम तथा देशभरिका सम्पूर्ण इन्जिनियरहरूलाई शुभकामना दिँदै हिमाली राज्य सिक्किममा विकासका साथै पर्यावरण संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
सीएपी अध्यक्षले आज जारी आफ्नो सन्देशमा भने, १५ सेप्टेम्बर भारतका महान् इन्जिनियर, राजनेता तथा राष्ट्रनिर्माता भारत रत्न सर मोक्षगुण्डम विश्वेश्वरैयाको जयन्तीको अवसरमा राष्ट्रिय इन्जिनियर दिवस मनाइन्छ। इन्जिनियरिङ, सिँचाई, जल प्रबन्व्यधन तथा पूर्वाधार विकासमा विश्वेश्वरैयाको योगदान र भारतको आधुनिकीकरणप्रतिको उनको दृष्टिकोणले इन्जिनियरहरूको पुस्तालाई निरन्तर प्रेरणा दिइरहेको छ।
उनले सिक्किममा इन्जिनियरिङ तथा विकाससँग विशेष जिम्मेवारी जोडिएको बताए। नाजुक हिमाली पारिस्थितिक प्रणालीमा अवस्थित सिक्किमको भौगर्भिक अवस्था, नदी, वन तथा जैवविविधता अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै राज्यका विभिन्न क्षेत्रमा निर्माण तथा पूर्वाधार विकास तीव्र रूपमा भइरहेकाले इन्जिनियरहरूको भूमिका अझ महत्वपूर्ण बनेको बताएका छन्।
उनले इन्जिनियरहरू पूर्वाधारको डिजाइन तथा निर्माणमा मात्र सीमित नभई विकासलाई सुरक्षित, दिगो, जलवायु अनुकूल तथा सिक्किमको विशिष्ट प्राकृतिक पर्यावरणप्रति संवेदनशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। उनले हिमाली भूभागअनुकूल तथा प्रकृतिमैत्री नयाँ प्रविधि, नवीन इन्जिनियरिङ अभ्यास र निर्माण विधि अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्।
राईले सर एम. विश्वेश्वरैयाको दूरदृष्टिलाई स्मरण गर्दै नवीनता, उत्कृष्टता, जिम्मेवारी र राष्ट्रनिर्माणको भावनालाई अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
हिन्दुस्थान समाचार / बिशाल