

कोलकाता, १५ सेप्टेम्बर (हि.स.)। सुन्दरवन पुलिस जिल्ला अन्तर्गत पाथरप्रतिमा थाना पुलिसले रामगंगा क्षेत्रमा ठूलो कारबाही गर्दै सोमवार राति खण्ड विकास कार्यालयबाट केही दूरीमा रहेका ‘स्वीटी’ र ‘टाइटानिक’ नामक दुई आवासीय होटलमा छापा मारेको छ। पुलिसले कारबाहीका क्रममा धेरै महिलालाई पक्राउ गरेको छ। पक्रा परेका महिलाहरूलाई मंगलवार काकद्वीप अदालतमा पेश गरिनेछ। यसैबीच, दुवै होटलका मालिक, व्यवस्थापक सहित अन्य व्यक्तिहरूको खोजीमा पुलिसले अभियान शुरु गरेको छ।
पुलिस सूत्र अनुसार, यी दुवै होटलमा लामो समयदेखि महिलाहरूलाई राखेर कथित रूपमा देह व्यापार वा यौन धन्दा सञ्चालन भइरहेको उजुरी प्राप्त हुँदै आएको थियो। उजुरीका आधारमा पाथरप्रतिमा थाना पुलिसले केही समयदेखि यस विषयमा गोप्य रूपमा निगरानी गरिरहेको थियो। अन्ततः विशेष सूचनाका आधारमा पुलिसले दुवै होटलमा छापा मारी धेरै महिलालाई पक्राउ गरेको हो।
पुलिसको कारबाहीको खबर फैलिएपछि पाथरप्रतिमा खण्डका भाजपाका केही स्थानीय नेताहरू पनि घटनास्थलमा पुगे। सोही क्रममा होटलका व्यवस्थापक र कर्मचारीहरूसँग भाजपा नेताहरूको भनावैरी भएको र पछि उक्त विवाद हातपात तथा कुटपिटमा परिणत भएको बताइएको छ। भाजपा नेताहरूले होटल मालिकका कथित सहयोगीहरूले आफूहरूमाथि आक्रमण गरेको आरोप लगाएका छन्। यद्यपि, यी आरोपबारे होटल व्यवस्थापनको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
पुलिसको छापाबारे जानकारी पाएपछि होटलका व्यवस्थापक सहित केही व्यक्ति घटनास्थलबाट फरार भएका छन्। पुलिसले उनीहरूको खोजीमा सम्भावित स्थानहरूमा छापा मारिरहेको छ।
उल्लेखनीय छ, पाथरप्रतिमा खण्डको रामगंगा र पाथरप्रतिमा क्षेत्रमा धेरै आवासीय होटलहरू छन्। स्थानीयवासी अनुसार, अधिकांश होटलले नियमानुसार अभिलेख लगायत आवश्यक कागजात व्यवस्थित गरेर व्यवसाय सञ्चालन गर्दै आएका छन्। तर ‘स्वीटी’ र ‘टाइटानिक’ होटललाई लिएर लामो समयदेखि विभिन्न प्रकारका उजुरीहरू आउने गरेका थिए। पुलिसले गरेको यस कारबाहीपछि स्थानीयवासीले राहत महसुस गरेका छन्।
हाल पुलिसले दुवै होटलमा वास्तवमा कस्ता गतिविधि सञ्चालन भइरहेका थिए तथा यस घटनामा होटल मालिक बाहेक अन्य को-को व्यक्ति संलग्न छन् भन्नेबारे अनुसन्धान गरिरहेको छ। घटनाको अनुसन्धान पाथरप्रतिमा थाना पुलिसले गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी