
गजिङ, 15 सेप्टेम्बर (हि.स.)। ,गेजिङ जिल्लाले खरिफ सिजन २०२६ अन्तर्गत कृषि स्ट्याक-डिजिटल फसल सर्वेक्षणमा १०० प्रतिशत स्थलगत कार्य सम्पन्न गरेको छ। जिल्लाले १४ सेप्टेम्बर, २०२६ मा उक्त उपलब्धि हासिल गरेको हो।
२२ अगस्त, २०२६ मा सबै नक्सा अपलोड गरी शुरु गरिएको ३० दिने समयसीमाअन्तर्गत सञ्चालन गरिएको सर्वेक्षण २४ दिनमै सम्पन्न भएको जिल्ला कृषि एवं बागवानी विभागले बताएको छ। हिमाली भू-भागमा डिजिटल कृषि योजना निर्माणका लागि यसलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
कृषि तथा बागवानी विभागका क्षेत्रीय कर्मचारीहरूको नेतृत्वमा सञ्चालन गरिएको सर्वेक्षण गेजिङ, देन्ताम र युक्सम महकुमाअन्तर्गत ४२ वटा राजस्व खण्ड तथा गाउँमा सञ्चालन गरिएको थियो। टोलीहरूले कठिन मनसुन, घना वन, भिरालो भू-भाग तथा पैह्रोको जोखिमयुक्त मार्गमा पुगेर कुल ४० हजार ११७ वटा प्लट्सको सर्वेक्षण गरे।
जिल्लाको सर्वेक्षण विवरणअनुसार, कुल ४० हजार ८७६ प्लट्स सर्वेक्षणका लागि तोकिएकोमा ४० हजार ११७ प्लटको सर्वेक्षण गरी तथ्याङ्क अपलोड गरिएको छ। अत्यन्त कठिन भू-भागका कारण ७५९ वटा प्लट अर्थात् १.८५ प्रतिशत प्लट सर्वेक्षण गर्न नसकिएको जनाइएको छ।
सर्वेक्षण कार्य २४ दिनमा सम्पन्न भएको हो भने यसको कार्यक्षेत्र ४२ वटा राजस्व खण्ड तथा गाउँमा फैलिएको थियो। पुनः तोकिएका ८४४ वटा प्लटको पुनःसर्वेक्षण कार्य स्थलगत रूपमा सम्पन्न गरी पर्यवेक्षकबाट स्वीकृत गरिएको छ।
यसैगरी, अस्वीकृत भएका ७ वटा प्लटको सत्यापनकर्तामार्फत पुनःसर्वेक्षण गरी पर्यवेक्षकबाट स्वीकृति प्रदान गरिएको छ। यस व्यापक डिजिटल नक्साङ्कन परियोजनाको सफल कार्यान्वयनमा २६४ जना सर्वेक्षक, २८ जना पर्यवेक्षक तथा २ जना जिल्ला प्रशासकको महत्वपूर्ण भूमिका रहेको विभागले जनाएको छ।
कठिन मनसुन तथा चुनौतीपूर्ण हिमाली भू-भागका बीच व्यापक फसलसम्बन्धी तथ्याङ्क संकलन कार्य सफलतापूर्वक सम्पन्न गरेकोमा कृषि तथा बागवानी विभागले सम्पूर्ण टिम गेजिङप्रति आभार व्यक्त गरेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल