
गजिङ, 15 सेप्टेम्बर (हि.स.)। मन्त्री तथा क्षेत्र विधायक छिरिङ टी. भोटियाले रिम्बी-सिङ्लीताममा गएको विनाशकारी पैह्रो प्रभावित क्षेत्रको निरीक्षण गर्दै घर, सम्पत्ति तथा मेल्ली-खेचुपेरी-युक्समलाई जोड्ने सडकमा भएको व्यापक क्षतिको जायजा लिएका छन्। पैह्रोका कारण सडक पूर्ण रूपमा भत्किएपछि उक्त क्षेत्रको महत्वपूर्ण यातायात सम्पर्क गम्भीर रूपमा प्रभावित भएको छ।
निरीक्षणका क्रममा मन्त्री भोटियाले पैह्रोबाट प्रभावित परिवारहरूमा परेको असरको मूल्याङ्कन गर्दै यातायात सम्पर्क तत्काल पुनःस्थापित गर्न अपनाउनुपर्ने अस्थायी उपायबारे छलफल गरे। उनले पैह्रोपछि उत्पन्न समस्याहरूको निरन्तर अनुगमन गरिरहेको बताउँदै प्रभावित परिवार तथा सर्वसाधारणले भोग्नुपरेको कठिनाइप्रति गहिरो चिन्ता व्यक्त गरे।
निरीक्षणका क्रममा पञ्चायत अध्यक्ष मंगल राई, वार्ड पञ्चायत सदस्यहरू तथा स्थानीय सर्वसाधारण पनि उपस्थित थिए। मन्त्री भोटियाले पैह्रोबाट गम्भीर रूपमा प्रभावित परिवारहरूलाई सरकारले आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन दिए। उनले नयाँ खरिद गरिएको जमिनमा नयाँ घर निर्माणका लागि समेत आवश्यक सरकारी सहायता उपलब्ध गराउने बताए। पैह्रोबाट उत्पन्न समस्या समाधान तथा प्रभावित परिवारले भोग्नुपरेका कठिनाइ न्यूनीकरण गर्न उचित कदम चालिने उनले आश्वासन दिए।
यसपछि मन्त्री भोटियाको अध्यक्षतामा ताथाङस्थित सरकारी जुनियर हाई स्कूलमा आगामी स्वर्ण जयन्ती समारोहको तयारीसम्बन्धी बैठक सम्पन्न भयो। स्कूलका प्रधानाध्यापक प्रेमकुमार लिम्बूले प्रस्तावित स्वर्ण जयन्ती समारोहको कार्यसूची, उद्देश्य तथा लक्ष्य प्रस्तुत गरे।
पञ्चायत अध्यक्ष दीपक राईले यसअघि सम्पन्न बैठकबाट संकलित प्रारम्भिक रकम, प्रस्तावित आर्थिक संकलन प्रक्रिया तथा समारोहका लागि अनुमानित कुल बजेट र आर्थिक आवश्यकताबारे बैठकमा जानकारी गराए। त्यसपछि खुला छलफल भएको थियो। छलफलका क्रममा सम्बन्धित समितिहरूले आफ्ना योजना, प्रक्रिया तथा आवश्यकताहरू प्रस्तुत गरे। विशेषगरी खेलकुद कार्यक्रम, सांस्कृतिक कार्यक्रम, खेलमैदान मर्मत तथा व्यवस्थापन र मञ्च निर्माण तथा व्यवस्थापनबारे विस्तृत छलफल भयो।
मन्त्री भोटियाले समारोह आयोजना गरिने स्थलको समेत निरीक्षण गर्दै खेलमैदानको व्यवस्थापन, स्थलको समग्र अवस्था तथा मञ्च व्यवस्थापनको निरीक्षण गरे।
हिन्दुस्थान समाचार / बिशाल