
कोलकाता, 15 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालमा नक्कली चिकित्सकहरूविरूद्ध कारबाही भइरहेको अवस्थामा दक्षिण 24 परगना जिल्लाको सोनारपुरमा थप एकजना कथित नक्कली चिकित्सकलाई पक्राउ गरिएको छ। सोनारपुर थानाको पुलिसले गत सोमवार राती घासियाड़ा क्षेत्रबाट विश्वरूप आचार्यलाई पक्राउ गऱ्यो।
पुलिस अनुसार, उसले आफूलाई क्यान्सर विशेषज्ञ बताउँथ्यो अनि आफ्नो नामसित एमबीबीएस र एपआरसीएस सहित केही डिग्रीहरूको प्रयोग गर्दै आएको थियो। जाँचमा यी डिग्रीहरूको केही विसङ्गति उदाङ्गिएको छ।
पुलिस सूत्र मुताविक विश्वरूपको सोनारपुरका विभिन्न क्षेत्रहरूमा लगभग 8 वटा च्याम्बरहरू थिए। उसले प्रतिरोगी 8 सय रुपियाँ फीस लिन्थ्यो। हालैमा उसले घासियाड़ा क्षेत्रमा एउटा घर भाड़ामा लिएर त्यसमा नयाँ च्याम्बर खोलेका थिए। एकपछि अर्को च्याम्बर खोलेको देखेर घर मालिकलाई शङ्का लाग्यो। त्यसपछि उनले सोनारपुर थानालाई जनाए।
सूचना पाएपछि पुलिसकर्मी रोगी भएर विश्वरूपको च्याम्बरमा पुगे। प्राथमिक जाँचमा उसको चिकित्सकीय प्रमाणपत्र एवं डिग्रीमा केही विसङ्गतिहरू पाइयो। त्यसपछि पुलिसले उसलाई पक्राउ गऱ्यो। हाल उसित जाँचबुझ गरी यो पत्तो लगाउने प्रयास गरिँदैछ कि उसले जाली चिकित्सकीय डिग्री र प्रमाण पत्रको व्यवस्था कहाँबाट गरेको थियो।
पुलिसले यो पनि जाँच गरिरहेको छ। विश्वरूपको हालैमा राज्यका विभिन्न भागहरूबाट पक्राउ गरिएका यस्तै अन्य जाली चिकित्सकहरूसित सम्बन्ध छ कि छैन। केही दिनअघि पूर्व बर्धमान जिल्लाको तालितबाट शेख सायेदुल हक नामक एकजना फर्जी चिकित्सकलाई पक्राउ गरिएको थियो।
यस अतिरिक्त उत्तर 24 परगना जिल्लामा जुल्फिकार मण्डल नामक अन्य व्यक्तिलाई पनि जाली चिकित्सकको रूपमा पक्राउ गरिएको थियो। पुलिस जाँचमा उनीहरूबाट जफत गरिएका चिकित्सकीय प्रमाणपत्रहरू बिहारमा बनाइएको पत्तो लागेको छ। अब विस्वरूपको मामिलामा पनि यसै पाटोको जाँच गरिँदैछ।
यसबीच भाजपाका स्थानीय नेताहरूले राज्यमा लगातार खुलासा भइरहेका फर्जी चिकित्सकहरूको मामिलाको लागि पूर्ववर्ती तृणमूल कङ्ग्रेस सरकारको कथित लापरवाहीलाई जिम्मेवार ठहराएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा