
सिक्किम एकैपटक १०० वटा एमबीबीएस सिटको स्वीकृति प्राप्त गर्ने पहिलो राज्य: मुख्यमन्त्री
गान्तोक, 18 सेप्टेम्बर (हि.स.)। सिक्किमको पहिलो सरकारी चिकित्सा महाविद्यालय 'हेलेन लेप्चा स्टेट गभर्नमेन्ट मेडिकल कलेज' को पहिलो ब्याचका एमबीबीएस विद्यार्थीहरूको ह्वाइट कोट समारोह शुक्रबार राजधानीको मनन केन्द्रमा सम्पन्न भयो। समारोहमा राज्यपाल ओमप्रकाश माथुर तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ उपस्थित थिए।
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सिक्किममा चिकित्सा शिक्षाको नयाँ युगको शुरुवात भएकोमा खुशी व्यक्त गरे। उनले यस वर्षको शुरुवातमा कलेजको भर्चुअल उद्घाटन गरेका प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गर्दै सिक्किमवासीका तर्फबाट जन्मदिनको शुभकामना पनि दिए। साथै, राज्यको पहिलो सरकारी मेडिकल कलेज स्थापना गर्न योगदान पुर्याउने सबैप्रति कृतज्ञता व्यक्त गरे।
मुख्यमन्त्रीले कलेजमा एमबीबीएस अध्ययनका लागि भर्ना भएका ८० जना विद्यार्थी तथा उनीहरूका अभिभावकलाई बधाई दिँदै अब सिक्किमका विद्यार्थीहरूले आफ्नै राज्यमा बसेर चिकित्सक बन्ने सपना पूरा गर्न सक्ने बताए। उनका अनुसार, राष्ट्रिय चिकित्सा आयोग (एनएमसी) बाट स्वीकृत १०० एमबीबीएस सिटमध्ये ५० वटा निःशुल्क, ३० वटा पूर्ण शुल्क श्रेणीअन्तर्गत वार्षिक पाँच लाख रुपियाँ शुल्कमा, १५ वटा केन्द्रिय पूलअन्तर्गत तथा पाँच वटा प्रबन्धन कोटाअन्तर्गत राखिएको छ। सिक्किमले एकैपटक १०० वटा एमबीबीएस सिटको स्वीकृति प्राप्त गर्ने पहिलो राज्य बनेको पनि उनले जानकारी दिए।
मुख्यमन्त्रीले सिक्किम मणिपाल इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एसएमआईएमएस) मा सिक्किमका विद्यार्थीहरूका लागि थप ३० वटा एमबीबीएस सिट सुनिश्चित गरिएको जानकारी दिँदै तीमध्ये २० वटा सहुलियत शुल्क तथा १० वटा पूर्ण शुल्कका सिट रहेको बताए।
यस वर्ष एचएलएसजीएमसीमा ८० जना र एसएमआईएमएसमा ३० जना गरी कुल ११० जना विद्यार्थीले एमबीबीएस अध्ययनको अवसर प्राप्त गरेको उल्लेख गर्दै उनले सबै विद्यार्थी तथा अभिभावकलाई बधाई दिए।
उनले आर्थिक रूपमा कमजोर परिवारका १९ जना विद्यार्थीलाई राज्य बाहिर एमबीबीएस अध्ययनका लागि पूर्ण आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए। साथै, छात्रावास खर्च वहन गर्न कठिनाइ भएका विद्यार्थीहरूलाई मुख्यमन्त्री शिक्षा सहायता योजनामार्फत सहयोग उपलब्ध गराइएको बताए।
नीट परीक्षामा सरकारी विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सफलता रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले राज्यका विभिन्न वरिष्ठ माध्यमिक विद्यालय तथा शिक्षकहरूको योगदानको प्रशंसा गरे। उनले आर्थिक वा अन्य कुनै समस्याका कारण अध्ययन नछोड्न विद्यार्थीहरूलाई आग्रह गर्दै राज्य सरकार सधैं उनीहरूको साथमा रहने विश्वास दिलाए।
मुख्यमन्त्रीकाले एचएलएसजीएमसीको कुल लागत खर्च ७६२.२४ करोड़ रुपियाँ रहेको जानकारी गराए। यसमध्ये भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयबाट २२५ करोड़ रुपियाँ, पीएम-डेभाइन योजनामार्फत १६७.९० करोड़ रुपियाँ, राज्य योजनाबाट १८४.४८ करोड़ रुपियाँ उपलब्ध गराइएको छ भने बाँकी १८४.८६ करोडझ रुपियाँ स्तरोन्नति तथा अन्य कार्यका लागि विनियोजन गरिएको छ।
भर्ना प्रक्रियामा पूर्ण पारदर्शिता कायम राखिएको उल्लेख गर्दै उनले योग्यता र मेरिटका आधारमा मात्र सिट वितरण गरिएको तथा रोस्टर प्रणालीको पालना गरिएको स्पष्ट पारे।
यस अघि स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जीटी ढुङ्गेलले पहिलो ब्याचका विद्यार्थीहरूलाई बधाई दिँदै ह्वाइट कोट समारोहलाई सिक्किमका लागि ऐतिहासिक अवसरको रूपमा वर्णन गरे। उनले चिकित्सा शिक्षाको यात्रामा कठोर परिश्रम, धैर्यता र समर्पण आवश्यक हुने बताउँदै चिकित्सा पेशालाई केवल करियरको रूपमा नभई सेवाको माध्यमका रूपमा लिन आग्रह गरे।
मुख्य सचिव आर. तेलाङले समारोहलाई ऐतिहासिक उपलब्धि भन्दै एचएलएसजीएमसीको यात्राको शुरुवातको साक्षी बन्न पाएकोमा गर्व व्यक्त गरे। उनले संस्थाको सफलता त्यहाँ अध्ययन गर्ने र कार्य गर्ने व्यक्तिहरूको योगदानमा निर्भर रहने बताए।
समारोहमा एचएलएसजीएमसीका ८० जना एमबीबीएस विद्यार्थीलाई औपचारिक रूपमा स्वागत गरिएको थियो। त्यसपछि कलेजका डीनद्वारा विद्यार्थीहरूलाई शपथ ग्रहण गराइएको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल