
खरसाङ, 18 सेप्टेम्बर (हि.स.)। खरसाङको लङ्भ्यू पीएफ क्याम्पमा हिल प्लान्टेशन इम्प्लोइज युनियनका कार्यकर्ताहरुले ईपीएफओबाट आएका अधिकारीहरूलाई बिहानदेखि नै पीएफ संसोधनको काममा सहायता गरेका छन्। म्यानेजमेन्टले अब पीएफ संसोधन अनि व्यवस्थापन सच्याउने काम तीव्र गतिले गरेको हुनु पर्ने हिल प्लान्टेशन इम्प्लोइज युनियनको माग रहेको छ।
लङ्भ्यू कमानमा चलेको उक्त क्याम्पमा तीनैवटा डिभिजनका श्रमिकहरुलाई शाखा प्रतिनिधि अनि नेतृत्वहरूले घर घरमा सूचना पुर्याउनदेखि लिएर पीएफ संसोधनको निम्ति कुन कुन कागज पत्र चाहिन्छ भन्नेबारे जानकारी दिएको जानकारी गराइएको छ।
युनियनका सचिव सुमेन्द्र तामाङले भने, उक्त जानकारीकै आधारमा श्रमिकहरुको भीड बिहान 11 बजीदेखि लागेको थियो। युनियनका शाखा प्रतिनिधिहरूले बिहानदेखि नै ईपीएफओबाट आएका अफिसरहरुलाई सहायता गरे। 102 दिनको आन्दोलनमा अनशन स्थलमा नै हामीले धेरैजनाको कागजपत्र यसरी नै साँचेर राखेका थियौं। धेरैजनाको संसोधनको कामहरु हाम्रा युवा साथीहरूले उही बेला गरी रहेका थिएँ। त्यो कामले आज धेरै कुरा सहज हुन पुग्यो।
उनले भने, योभन्दा अघि पनि युनयिनको पहलमा ईपीएफओ अफिसद्वारा लङ्भ्यू कमानमा पीएफ क्याम्प भएको हो। यहाँ केवल पीएफको मात्र समस्या नभएर भोट कार्ड, प्यान कार्ड, राशन कार्ड अनि आधार कार्डको संसोधन पनि जरुरी छ। सिस्टम नै लथालिङ भएको कारणले यहाँ यस्तो समस्या हुन पुगेको हो। यसैले अझै आउँदो भविष्यमा यस्ता पहलको आवश्यकता रहेको छ। युनियनले केवल आन्दोलन मात्र होइन समस्याको समाधानको बाटो पनि सच्याउने काम गर्दै आएको छ।
हिन्दुस्थान समाचार / हनोक