
भागलपुर, १८ सेप्टेम्बर (हि.स.)। सामाजिक सञ्जालमा रील्स बनाउने तथा सार्वजनिक रूपमा हतियार प्रदर्शन गरेर त्रास फैलाउनेहरूमाथि भागलपुर पुलिसले कड़ा कारबाही थालेको छ।
सामाजिक सञ्जालमा दुवै हातमा पेस्तोल जस्तो हतियार लिएर महिला नर्तकीहरूसँग नाचिरहेको भीडियो सार्वजनिक भएपछि पुलिसले तत्काल कारबाही गर्दै एक युवकलाई पक्राउ गरेको छ।
पक्रा पर्नेमा बबरगञ्ज थाना क्षेत्र अन्तर्गत महेशपुर निवासी मुकेश पाल रहेको छ। पुलिस अनुसार, उ हालै जेलबाट जमानतमा रिहा भएको थियो।
जेलबाट रिहा भएपछि उसले आफ्ना साथीहरूसँग मिलेर गोप्य स्थानमा नृत्य कार्यक्रम आयोजना गरेको र भोजपुरी गीतको धुनमा दुवै हातमा हतियार जस्तो वस्तु लहराउँदै नाचेको भीडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको पुलिसले जनाएको छ। भीडियो तीव्र रूपमा फैलिन थालेपछि वरिष्ठ पुलिस उपरीक्षकको निर्देशमा विशेष टोली गठन गरी खोजी अभियान सञ्चालन गरियो। टोलीले छापा मारेर उसलाई पक्राउ गरेको हो।
पुलिससँगको सोधपुछका क्रममा मुकेश पालले भीडियोमा देखिएको पेस्तोल वास्तविक हतियार नभएको र रील्स बनाउन तथा आफ्नो सोखका लागि नक्कली खेलौना वा लाइटर किनेको दाबी गरेको छ। पुलिसले भने उसको दाबीलाई बचाउका लागि गरिएको तर्क मानेर घटनाबारे विस्तृत अनुसन्धान थालेको जनाएको छ।
पुलिसले सामाजिक सञ्जालमा लोकप्रियता वा धेरै दर्शक बटुल्ने उद्देश्यले हतियार प्रदर्शन गर्ने तथा कानून–व्यवस्थालाई चुनौती दिने व्यक्तिलाई कुनै पनि अवस्थामा छुट नदिइने चेतावनी दिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी