
- मुख्यमन्त्रीले फुटबल खेलको विकासका लागि खेल विभाग र एसएफएलाई समन्वयमा काम गर्न निर्देशन दिए
गान्तोक, १९ सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आगामी ४२औँ अखिल भारतीय राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगिता २०२६ को तयारी तथा सिक्किममा फुटबल खेलको थप विकासका विषयमा सिक्किम फुटबल सङ्घ (एसएफए) का कार्यकारी समितिका पदाधिकारी तथा खेलकुद विभागकी सचिव र निर्देशकसँग आज मिन्टोकगाङमा भेटवार्ता गरेका छन्।
मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत भेटका क्रममा आगामी राज्यपाल स्वर्ण कप प्रतियोगिताबारे विस्तृत तथा फलदायी छलफल भएको जानकारी दिएका छन्। प्रतियोगिता आगामी ५ अक्टोबर, २०२६ देखि शुरु हुने तय गरिएको छ।
उनले सिक्किममा फुटबलको थप विकासका लागि खेलकुद विभाग र सिक्किम फुटबल सङ्घलाई नजिकको समन्वय र सहकार्यमा काम गर्न निर्देशन दिएका छन्। विशेषगरी स्थानीय खेलाडीहरूको प्रतिभा पहिचान, प्रोत्साहन तथा विकास गर्दै उनीहरूलाई थप अवसर उपलब्ध गराउन ध्यान केन्द्रित गर्नुपर्नेमा उनले जोड दिएका छन्।
मुख्यमन्त्रीले राज्यपाल स्वर्ण कप सिक्किमको प्रतिष्ठित खेलकुद परम्परा रहेको उल्लेख गर्दै यस वर्षको प्रतियोगिताले फुटबलको उत्साह र प्रतिभालाई उजागर गर्ने विश्वास व्यक्त गरेका छन्। उनले सिक्किम फुटबल सङ्घ, सहभागी टोली, खेलाडी, अधिकारी तथा सबै फुटबलप्रेमीलाई प्रतियोगिताको सफल र स्मरणीय आयोजनाका लागि शुभकामना दिएका छन्।
हिन्दुस्थान समाचार / बिशाल