
दार्जिलिङ, 02 सेप्टेम्बर (हि.स.)। विश्व धरोहर दार्जिलिङ हिमालयन रेलवेको दार्जिलिङस्थित रेलवे इञ्जिन सेडको छत आज बिहान अचानक भत्किँदा प्रभारीसहित ८ जना रेलवे कर्मचारी घाइते भएका छन्। प्राप्त जानकारीअनुसार, कर्मचारीहरू इञ्जिन सेडमा कार्य गरिरहेको समयमा बिहान लगभग ८:५५ बजीतिर अचानक सेडको छत भत्किएर खसेको थियो।
घटनापछि घाइते सबैलाई तत्काल उपचारका लागि दार्जिलिङ जिल्ला अस्पताल पुऱ्याइयो। जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि घाइते कर्मचारीहरूलाई थप उपचारका लागि एनजेपीस्थित रेलवे अस्पतालमा रेफर गरिएको स्रोतबाट जानकारी प्राप्त भएको छ।
घटनाको जानकारी पाए लगत्तै दार्जिलिङका विधायक नोमन राई घटनास्थलमा पुगेर अवस्थाको निरीक्षण गरेका थिए। विधायक राईले जिल्ला अस्पतालमा पुगेर घाइते कर्मचारीहरूको स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिए। रेलवे विभागसँग सम्बन्धित विभिन्न समस्या तथा घटनाका विषयमा आफूले चाँडै नै रेलवे विभागका उच्च अधिकारीहरूसँग भेट गरी आवश्यक छलफल गर्ने विधायक राईले बताए।
यसैबीच स्थानीयवासीका तर्फबाट बिनिता रोकाले रेलवे विभागले जोखिमपूर्ण अवस्थामा रहेका संरचनाहरूप्रति तत्काल विशेष ध्यान दिनुपर्ने बताएकी छन्। उनका अनुसार, इन्जिन सेडलगायत जोखिममा रहेका संरचनाको संरक्षण तथा मर्मतसम्भारका विषयमा पटक-पटक सम्बन्धित विभागलाई जानकारी गराउँदै आए पनि समयमै आवश्यक पहल भएको छन।
स्थानीयवासीले रेलवे विभागलाई यस्ता जोखिमपूर्ण संरचनाको तत्काल निरीक्षण गरी आवश्यक मर्मत तथा सुरक्षाका उपाय अवलम्बन गर्न माग गरेका छन्। घटनाबारे रेलवे विभागले आधिकारिक प्रतिक्रिया दिएको छैन।
हिन्दुस्थान समाचार / हनोक