
कोलकाता, 02 सप्टेम्बर (हि.स.)। जादवपुर विश्वविद्यालयमा भित्ते लेखनलाई लिएर विवाद यथावत छ। गए मङ्गलवार अबेर राती विश्वविद्यालय परिसरका भित्ताहरूमा लेखिएका नारा अनि ग्र्याफिटीलाई चुना पोतेर ढाकियो। यो कारबाही उपकुलपतिको पक्षबाट परिसरका भित्ताहरूमा अनधिकृत रूपमा नारा र ग्र्याफिटी नलेख्ने अपील गरिएको केही घण्टापछि गरिएको हो।
बितेको मङ्गलवार अबेर राती विश्वविद्यालयका पर्खालहरूमा लेखिएका नारा अनि ग्र्याफिटीहरूलाई पुनः मेटाइयो। यसअघि गत आइतवार पनि विश्वविद्यालय प्रशासनले पर्खालहरूमा लेखिएका नाराहरूलाई सेतो रङ्ग लगाएर ढाकिदिएको थियो। त्यसपछि सोमवार विद्यार्थीहरूद्वारा विभिन्न नारा अनि ग्र्याफिटी लेखिएको थियो।
मङ्गलवार बिहान उपकुलपति चिरञ्जीव भट्टाचार्यले सबै पक्षसित विश्वविद्यालय परिसरको सुन्दरता, स्वच्छता र गरिमालाई कायम राख्ने अपील गरेका थिए। उनले भनेका थिए, उनी यस भित्ते लेखनको पक्षमा छैनन्। तथापि अभिव्यक्तिको स्वतन्त्रतालाई मान्यता दिँदै उनले विद्यार्थीहरूलाई यसको लागि निर्धारित स्थानहरूको प्रयोग गर्ने कुरा गरेका थिए।
रिभोल्यूशनरी स्टूडेन्ट्स फ्रन्ट (आरएसएफ)- को जादवपुर एकाईका सचिव इन्द्रानुज रायले आरोप लगाए, राती लगभग साढ़े बाह्र बजे केही मानिसहरू जसले आफूलाई कोलकाता पुलिस र कोलकाता नगरनिगमका कर्मचारीहरू बताइरहेका थिए, विश्वविद्यालयको गेट नम्बर-4 बाट परिसरभित्र प्रवेश गरे।
इन्द्रानुज राय मुताविक, उनीहरूलाई बताइयो कि नगरनिगमका कर्मचारीहरू भित्ते लेखनलाई मेटाउनको लागि आएका हुन् भने पुलिस उनीहरूको सुरक्षाको लागि उनीहरूको साथमा आएको हो। तथापि अबेर राती भएको यस कारबाहीको सम्बन्धमा विश्वविद्यालय प्रशासनको पक्षबाट तत्काल कुनै आधिकारिक स्पष्टिकरण दिइएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा