
नयॉं दिल्ली, २० सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभा अध्यक्ष ओम बिरला तथा रक्षामन्त्री राजनाथ सिंहलगायत सत्तापक्ष र विपक्षका विभिन्न नेताले आइतबार वरिष्ठ पत्रकार पायल मेहताको निधनमा शोक व्यक्त गरेका छन्।
प्रधानमन्त्री मोदीले ‘एक्स’ मा भने, पायल मेहता मेहनती पत्रकार थिइन्, जो जनतासँग जोडिएर रहिन् र आफ्नो समाचार प्रस्तुतिमा राष्ट्रिय मुद्दाहरूको गहिरो बुझाइ प्रस्तुत गर्थिन्। आफ्नो कामबाहेक उनलाई धेरै मानिसको जीवनमा प्रभाव पार्ने उनको दयालुता र स्नेहका लागि पनि सम्झिइने उनले बताए। उनको अचानक र असामयिक निधन अत्यन्त दुःखद रहेको बताउँदै प्रधानमन्त्रीले उनका परिवार, साथीभाई तथा सहकर्मीप्रति समवेदना व्यक्त गरेका छन्। उनले कठिन समयमा परिवारलाई साहस मिलोस् भनी कामना गरेका छन्।
लोकसभा अध्यक्ष ओम बिरलाले पायल मेहाता प्रतिभाशाली तथा वरिष्ठ पत्रकार रहेको र उनले लामो समयदेखि संसद्सम्बन्धी समाचार संकलन गर्दै आएको बताए। उनको निधन पत्रकारिता क्षेत्रका लागि ठूलो क्षति भएको उनले बताए। उनले दिवंगत आत्माको शान्ति तथा शोकसन्तप्त परिवारलाई धैर्य प्रदान गर्न ईश्वरसँग प्रार्थना गरेका छन्।
रक्षामन्त्री राजनाथ सिंहले पायल अत्यन्त मेहनती र समर्पित पत्रकार थिए भनी बताएका छन्। उनले पूर्ण निष्ठा र व्यावसायिकताका साथ संसद्को कार्यवाहीको समाचार संकलन गर्ने गरेको उल्लेख गरे। संसद् अधिवेशनका क्रममा उनी बिहानदेखि अबेर रातिसम्म उपस्थित भएर थकानबिना कार्यवाहीमा नजर राख्ने र असाधारण समर्पणका साथ काम गर्ने गरेको उनले बताए।
केन्द्रिय गृहमन्त्री तथा सहकारितामन्त्री अमित शाहले पायल मेहता उत्कृष्ट व्यावसायिक पत्रकार रहेको बताए। उनी कुनै पनि विषयसँग सम्बन्धित प्रत्येक जानकारी पाठक तथा दर्शकसम्म पुर्याउन समर्पित रहने गरेको उनले बताए। उनी मिलनसार र स्नेही व्यक्तित्वकी धनी रहेको उल्लेख गर्दै शाहले प्रतिभाशाली तथा मेहनती पत्रकारको असामयिक निधन पत्रकारिता जगतका लागि अपूरणीय क्षति भएको बताए।
केन्द्रिय स्वास्थ्यमन्त्री जेपी नड्डाले प्रतिभाशाली तथा पत्रकारिताप्रति समर्पित पायल मेहतालाई आफ्नो कामप्रतिको निष्ठा र उदार स्वभावका लागि सम्झिइने बताए। उनको असामयिक निधन सम्पूर्ण पत्रकारिता समुदायका लागि अपूरणीय क्षति भएको उनले बताए।
केन्द्रिय शिक्षामन्त्री प्रह्लाद जोशीले पायल मेहतालाई उनको शान्त स्वभाव, पत्रकारिताप्रतिको गहिरो बुझाइ, सोचविचार गरेर प्रश्न सोध्ने तथा आफ्नो कामप्रतिको इमानदारीका लागि सम्झिइने बताए।
भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले पायल मेहता आफ्नो कडा मेहनत, राष्ट्रिय मुद्दाहरूको गहिरो बुझाइ तथा आफू जोडिएका सबै व्यक्तिप्रति देखाउने विशेष स्नेहपूर्ण व्यवहारका लागि परिचित रहेको बताए। उनको असामयिक निधन सञ्चार क्षेत्रका लागि ठूलो क्षति भएको उनले बताए।
लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले संसदको समाचार संकलन गर्ने पत्रकार पायल मेहताको असामयिक निधनबाट आफू दुःखी भएको बताएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी