हिन्दी युवा नाटककारहरूको सङ्ख्यामा निरन्तर वृद्धि हुँदैछः सुमन कुमार
संगीत नाटक अकादमी के उपसचिव सुमन कुमार के साथ अन्य लोग मौजूद।


नयाँ दिल्ली, २० सेप्टेम्बर (हि.स.)। सङ्गीत नाटक अकादमीका उपसचिव सुमन कुमारले हिन्दी युवा नाटककारहरूको सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको बताउँदै यसलाई खुशीको विषय भएको बताएका छन्। कुमारले शनिबार दिल्लीस्थित श्रीराम सेन्टर अगाडि सञ्जना बुक्सको ‘साहित्य के पेड’ नामक पुस्तक पसलमा आयोजित वरिष्ठ रङ्गकर्मी तथा नाटककार आलोक शुक्लाको चौथो नाट्य सङ्ग्रह ‘पतझड के फूल' र 'देखोना’ पुस्तकको लोकार्पण कार्यक्रममा उक्त कुरा भनेका हुन्।

पुस्तकको लोकार्पण वरिष्ठ नाटककार प्रताप सहगल, नाटककार तथा समीक्षक राजेश कुमार, सङ्गीत नाटक अकादमीका उपसचिव सुमन कुमार, रङ्ग निर्देशक प्रदीप बाजपेयी, वरिष्ठ लेखिका शशि सहगल, अभिनेता श्रीकान्त वर्मा, नाटककार अनिल ठाकुर तथा सञ्जना बुक्सकी निर्देशक सञ्जना तिवारीले संयुक्त रूपमा गरे।

सुमन कुमारले हिन्दीमा नयाँ नाटक लेखिँदैन भन्ने आम धारणालाई खारेज गर्दै आलोक शुक्लाजस्ता स्रष्टाहरू निरन्तर सक्रिय रहेको बताए। उनले रङ्गकर्मीहरूले यस्ता समसामयिक नाटकलाई मञ्चमा ल्याउनुपर्नेमा जोड दिए।

वरिष्ठ नाटककार प्रताप सहगलले आलोक शुक्लाको सिर्जनात्मक कार्यको प्रशंसा गर्दै गम्भीर रोगसँग जुधिरहेका अवस्थामा पनि निरन्तर लेखन तथा रङ्ग निर्देशनमा सक्रिय रहनु प्रेरणादायी भएको बताए। उनले दुवै पूर्णाङ्क नाटकको प्रकाशनका लागि लेखकलाई बधाई दिए।

नाटककार तथा समीक्षक राजेश कुमारले ‘पतझड के फूल’ नाटकको संरचनाको प्रशंसा गर्दै यसमा वृद्धवृद्धाको मनोस्थितिलाई केन्द्रमा राखेर दुई फरक अन्त्य प्रस्तुत गरिएको बताए। यसले निर्देशकलाई आफ्नो दृष्टिकोणअनुसार नाटक मञ्चन गर्ने स्वतन्त्रता प्रदान गर्ने उनको भनाइ थियो।

दोस्रो नाटक ‘देखोना’ बारे चर्चा गर्दै उनले सामाजिक परिवेश बुझ्न आज मोहन राकेशका नाटकहरू पढिएजस्तै आगामी १०-१५ वर्षपछि कोरोना महामारीको समयको सामाजिक यथार्थ बुझ्न आलोक शुक्लाको ‘देखोना’ महत्वपूर्ण नाट्य दस्तावेजका रूपमा पढिने र मञ्चन गरिने बताए।

कार्यक्रममा रङ्ग निर्देशक प्रदीप बाजपेयी, अभिनेता श्रीकान्त वर्मा, विपिन कुमार, शशि सहगल र अनिल ठाकुर, नाटककार आलोक शुक्ला, अभिमन्यु सिंह चौधरी, शिखा मल्होत्रा तथा हिम्मत सिंह नेगीलगायत साहित्य र रङ्गजगत्सँग सम्बन्धित ठूलो सङ्ख्यामा व्यक्तिहरूको उपस्थिति थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande