वाराणसीमा ३० लाख रुपियाँका इनामी नक्सली बृजेश गंझू मारिए
वाराणसीमा ३० लाख रुपियाँका इनामी नक्सली बृजेश गंझू मारिए


वाराणसी, २० सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेश आतंकवाद निरोधक दस्ता (एटीएस) ले आइतबार बिहान वाराणसीको रामनगर थाना क्षेत्रअन्तर्गत भएको मुठभेडमा ३० लाख रुपियाँका इनामी कुख्यात नक्सली बृजेश गंझू उर्फ गोपाल सिंहलाई मारेको छ। बृजेश झारखण्डको प्रतिबन्धित नक्सली संगठन तृतीय प्रस्तुति कमिटी (टीपीसी) का कमान्डर रहेको बताइएको छ। उनी राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) सँग सम्बन्धित आतंकवादी वित्तपोषणको मामिलामा करिब आठ वर्षदेखि खोजीमा थिए।

एटीएसका पुलिस उपाधीक्षक (डीएसपी) विपिन रायका अनुसार, बृजेश मोटरसाइकलमा रामनगर हुँदै मुगलसरायतर्फ जाने सूचना टोलीले पाएको थियो। सूचनाका आधारमा एटीएस टोलीले उक्त क्षेत्रमा घेराबन्दी गरेको थियो। केही समयपछि मोटरसाइकलमा आएका बृजेशलाई टोलीले रोक्ने प्रयास गरेको थियो। आरोपअनुसार, पक्राउबाट बच्न उनले दुवै हातमा पेस्तोल लिएर पुलिस टोलीमाथि गोली चलाउन थाले।

बृजेशले चलाएको गोली डीएसपी विपिन राय र मुख्य आरक्षी नितेन्द्र कृष्णको बुलेटप्रुफ ज्याकेटमा लागेको पुलिसले जनाएको छ। पुलिसका अनुसार, जवाफी कारबाहीमा बृजेशलाई गोली लाग्यो र उनी सडकमा ढले। एटीएस टोलीले उनलाई तत्काल जिल्ला अस्पताल पुर्याएको थियो, जहाँ चिकित्सकले परीक्षणपछि मृत घोषित गरे। मुठभेडका क्रममा बृजेशका एक साथी घटनास्थलबाट भागेका छन्।

बृजेश झारखण्डको चतरा जिल्लाको लावालौंग थाना क्षेत्रका बासिन्दा थिए। जॉंच एजेन्सीका अनुसार, उनी प्रतिबन्धित नक्सली संगठन टीपीसीसँग आबद्ध थिए र संगठनमा कमान्डरको भूमिकामा थिए। उनीमाथि यातायात व्यवसायी, कोइला खानी कम्पनी तथा ठेकेदारबाट अवैध रकम असुली गरेको आरोप थियो।

अधिकारीहरूका अनुसार, झारखण्ड सरकारले बृजेशमाथि २५ लाख रुपियाँ र एनआईएले पाँच लाख रुपियाँको पुरस्कार घोषणा गरेको थियो। यसरी उनीमाथि कुल ३० लाख रुपियाँको पुरस्कार थियो। एनआईएको कारबाहीका क्रममा करिब आठ वर्षअघि उनको घरसमेत कुर्की गरिएको थियो।

भिडन्तपछि एटीएसले घटनास्थलको जाँच गरेको छ र भागेका बृजेशका साथीको खोजीमा अभियान शुरु गरेको छ। पुलिस टोलीले घटनास्थलबाट बरामद हतियार तथा अन्य सामग्रीको पनि जाँच गरिरहेको छ। अधिकारीहरूका अनुसार, घटनामा थप कारबाही तथा फरार साथीको पहिचानका लागि जॉंच जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande