११औँ आयुर्वेद दिवसमा राज्यपालको सन्देश
om prakash mathur


गान्तोक, 23 सेप्टेम्बर (हि.स.)।सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले ११औँ आयुर्वेद दिवसका अवसरमा सिक्किमवासीसहित आयुर्वेद तथा आयुषसँग सम्बन्धित चिकित्सक, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी तथा स्वास्थ्यकर्मीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

राज्यपालले आज जारी आफ्नो सन्देशमा भारतको समृद्ध आयुर्वेद परम्पराले स्वास्थ्य केवल रोगमुक्त हुनु मात्र नभई जीवनका हरेक आयाममा सन्तुलन कायम गर्नु र प्रकृतिसँग सामञ्जस्य स्थापित गर्नु हो भन्ने सिकाउने बताएका छन्। यस वर्षको “स्वस्थ भविष्यका लागि आयुर्वेद” भन्ने विषयवस्तुले यही विचारलाई पुष्टि गर्ने उनले उल्लेख गरेका छन्।

राज्यपालले सिक्किमले जैविक विविधतासँगै पुस्तौँदेखि संचित परम्परागत ज्ञानलाई समेत संरक्षण गर्दै आएको बताउँदै यस सम्पदालाई वैज्ञानिक अनुसन्धान, गुणस्तरीय शिक्षा र नवीनतामार्फत अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

उनले आयुष सेवाहरू अस्पताल, स्वास्थ्य केन्द्र तथा समुदायसम्म पुगिरहेको उल्लेख गर्दै यो केवल रोग उपचारको माध्यम नभई स्वास्थ्य प्रवर्द्धन तथा रोग निवारणको दिशामा महत्वपूर्ण परिवर्तन भएको बताएका छन्।

स्वास्थ्यको अर्थ शरीरको मात्र हेरचाह नभई पर्यावरणको संरक्षणसमेत रहेको बताउँदै राज्यपालले वन, औषधीय वनस्पति, जल र माटो नै मानव स्वास्थ्यको आधार भएको उल्लेख गरेका छन्।

राज्यपाल माथुरले आयुर्वेदलाई एक दिनको अवसरमा मात्र सीमित नराखी घर, कार्यस्थल र समुदायको जीवन्त हिस्सा बनाउन सबैलाई आह्वान गरेका छन्। उनले सबैलाई आयुर्वेद दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande