
खरसाङ, २६ सेप्टेम्बर (हि.स.)। खरसाङको रोहिणी निवासी पिता महेन्द्र थापा र माता शान्ता थापाका सुपुत्र प्रज्वल थापाको पहिलो म्युजिक भिडियो 'नलजाउन' आज रोहिणीको लोवर चिसो पानीस्थित सार्वजनिक लोकार्पण भयो। उक्त लोकार्पण कार्यक्रमको अध्यक्षता घैयाबारी तीन ग्राम पञ्चायतकी पूर्व पञ्चायत प्रधान सुष्मा वाईबाले गरेकी थिइन्। यस अवसरमा तीनधारेका वरिष्ठ संगीतकार एवं संगीत गुरु बरुण रसाईली प्रमुख अतिथि थिए।
प्रज्वलन थापाको पहिलो म्युजिक भिडियो 'नलजाउन' सभाध्यक्ष सुष्मा वाईबा, प्रमुख अतिथि संगीतकार बरुण रसाईली, विशिष्ट अतिथि वरिष्ठ संगीतकार सुरेन बम्जन, चर्चित गायक कर्म मोक्तान, संगीतकार मौसम नेवार, गायक मोहित भुजेल, मोडेल नन्दिनी छेत्री, गायक प्रज्वल थापा र उनका पिता महेन्द्र थापा र माता शान्ता थापा आदिको बाहुलीबाट संयुक्त सम्पन्न गरियो।
म्युजिक भिडियोको शब्द, संगीत र स्वर प्रज्वल थापाको रहेको छ भने संगीत संयोजन र रेकर्डिङ मौसम नेवार, भिडियो अभिषेक थापाको रहेको छ। म्युजिक भिडियोमा प्रज्वल थापा र नन्दिनी छेत्रीले अभिनय गरेका छन्। म्युजिक भिडियो लोकार्पण कार्यक्रममा विभिन्न स्थानहरुबाट गीत संगीत, साहित्य र कला क्षेत्रका मानिसहरु उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक