
-बोडो साहित्य सभाका उपाध्यक्षले 60 वर्षको उमेरमा अन्तिम सास लिए
कोक्राझार (असम), 28 सेप्टेम्बर (हि.स.)। प्रतिष्ठित बोडो साहित्यकार तथा बोडो साहित्य सभाका उपाध्यक्ष कमलाकान्त मुसाहारीको निधन भयो। गुवाहाटीको नेमकेयर अस्पतालमा उपचारको क्रममा उनले आज बिहान 2ः20 बजे अन्तिम सास लिए। मृत्यु हुँदा उनको उमेर 60 वर्ष पुगेको थियो।
कमलाकान्त मुसाहारी बोडो भाषा र साहित्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने साहित्यकारहरूमा सामेल छन्। उनले विगतमा बोडो साहित्य सभाको महासचिवको रूपमा पनि दायित्व निर्वाह गरेका थिए भने वर्तमानमा उनी बोडो साहित्य सभाको उपाध्यक्षका रूपमा कार्यरत थिए।
जानकारी अनुसार कमलाकान्त मुसहरी मधुमेहबाट पीडित थिए। केही दिनअघि घरको सिँढीमा लड़ेर उनी घाइते भएका थिए, त्यसपछि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। निमकेयर अस्पतालमा उपचाररत् कमलाकान्तको आज मृत्यु भयो।
कमलाकान्त मुसाहारीको निधन भएको खबरले बोडो साहित्य र सांस्कृतिक जगतमा गहिरो शोक छाएको छ। उनको निधनमा बोडो साहित्य सभा, साहित्यकार, कलाकार र उनका असङ्ख्य प्रशंसकहरू सहित विभिन्न सङ्गठनहरूले गहिरो शोक व्यक्त गरेका छन्। शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै साहित्य र भाषाको क्षेत्रमा उनको योगदानलाई स्मरण गरियो। उनको निधनलाई बोडो भाषा-साहित्य जगतका लागि अपूरणीय क्षति बताएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा