
चिराङ्ग (असम), 28 सेप्टेम्बर (हि.स.)। चिराङ्ग जिल्लाको डाङ्गतल बजार क्षेत्रमा गए राती ठूलो आगलागी भएका कारण त्यस क्षेत्रमा आतङ्क फैलियो। यस आगलागीमा हेर्दा-हेर्दै 18 वटा पसलहरू जलेर खरानीमा परिणत भयो।
पुलिसले सोमवार बतायो, आगलागी भएको जानकारी पाए लगत्तै घटनास्थलमा चिराङ्ग र छिमेकी जिल्ला बङ्गाई गाउँबाट अग्निशमनकका 6 वटा टोलीलाई पठाइयो। यी टोलीहरूले स्थानीय मानिसहरूको सहयोगमा अथक प्रयास गरेर आगोलाई नियन्त्रण गरे। तर त्यसबेलासम्ममा 18 वटा पसलहरू जलेर नष्ट भइसकेका थिए।
आगलागीबाट प्रभावित अधिकांश पसलहरू कपडाका पसलहरू थिए। आगलागीको क्रममा खाना पकाउने ग्यास सिलिण्डर पनि विस्फोट भएको कारणले आगोले झन् विकराल रूप लिएको थियो।
आगलागीका कारण करोडौँ रुपियाँको सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ। तथापि आगो कसरी लाग्यो भन्ने कुरा अहिलेसम्म थाहा पाउन सकिएको छैन। सर्ट सर्किटको कारणले आगलागी भएको हुनसक्ने आशङ्का पुलिसले व्यक्त गरेको छ। अहिलेघरि पुलिस आगोमा जलेर नष्ट भएका पसलहरूको बारेमा जानकारी सङ्कलनगर्न जुटेको छ।
यस घटनामा कुनै पनि प्रकारको जनहानि भएको समाचार प्राप्त भएको छैन। पुलिसले यस सम्बन्धमा एफआईआर दर्ता गरी क्षय-क्षतिको मूल्याङ्कन र आगलागी कसरी भयो, यसको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा