
- यस वर्ष फुटबल प्रेमीहरूले नेपालको अनुपस्थिति महसुस गर्ने
गान्तोक, 30 सेप्टेम्बर (हि.स.)। अखिल भारतीय राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगिताको 42औं संस्करण आगामी 5 अक्टोबरदेखि राजधानीको पाल्जोर स्टेडियममा शुरू भइरहेको छ। 16 अक्टोबर, 2026 सम्म खेलाइने यस प्रतिष्ठित फुटबल प्रतियोगितामा कुल 14 फुटबल क्लबहरूले भाग लिइरहेका छन्। उक्त जानकारी आयोजक सिक्किम फुटबल संघ (एसएफए) का पदाधिकारीहरूले आज यहॉंको फुटबल हाउसमा आयोजित एक पत्रकार सम्मेलनमा दिए।
एसएफए अध्यक्ष मेन्ला इथेन्पाले जानकारी गराएअनुसार, 42औं अखिल भारतीय राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगिता 2026 आगामी 5 अक्टोबरदेखि शुरू हुनेछ। पहिलो दिन कुल दुईवटा खेल खेलाइने छ। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित रहनेछन्। 5 अक्टोबर सिक्किमका पूर्व मुख्यमन्त्री नर बहादुर भण्डारीको जयन्ती पनि रहेकाले फुटबल प्रतियोगिताको शुभारम्भ स्वर्गीय भण्डारीलाई श्रद्धाञ्जलि अर्पण गरेर गरिने छ।
उनले यस पटक सिक्किमका चार स्थानीय फुटबल क्लबलगायत राज्य बाहिरका 10 फुटबल क्लबहरूले प्रतियोगितामा भाग लिइरहेको जानकारी गराए। एसएफए अध्यक्षका अनुसार, इस्ट बङ्गाल एफसी, शिलङ लाजोङ एफसी नर्थइस्ट युनाइटेड, सुभेदा दिल्ली एफसी, गोकुलम एफसी, एफसी बनारस, ओडिशा एकादश, गढवाल हिरोज, ओएल एफटी असम र जीटीए एकादशले भाग लिइरहेका छन्। उनले हाल एसएफए ए डिभिजन फुटबल प्रतियोगिता चलिरहेकाले भोलि (बिहिवार) सॉंझसम्म सिक्किमका चार फुटबल क्लबहरूको नाम स्पष्ट हुने बताए। साथै, भोलि सॉंझसम्म प्रतियोगिताको फिक्स्चर पनि जारी गरिने छ।
उनले पहिलो र दोस्रो दिन दुई-दुईवटा खेल खेलाइने छ भने 7 अक्टोबरदेखि दैनिक एउटा खेल खेलाइने पनि जानकारी गराए। यसैगरी, 10 अक्टोबरको खेल सॉंझ फ्लड लाइटमा खेलाइने पनि उनले बताए।
उल्लेखनीय छ, यस पटक राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगितामा नेपालका एउटै पनि फुटबल क्लबले सामेल छैनन्। फिफाले अल नेपाल फुटबल एसोसिएशनमाथि प्रतिबन्ध लगाएकाले नेपालका फुटबल क्लबहरू सहभागी बन्न नसकेको अध्यक्ष इथेन्पाले स्पष्ट पारे। नेपालले राज्यपाल स्वर्ण कपमा भाग लिन नपाउनु एसएफएका लागि पनि ठूलो दुर्भाग्यको कुरा रहेको उनले बताए। यद्यपि, देशका उत्कृष्ट फुटबल क्लबहरूले भाग लिइरहेकाले फुटबल प्रेमी दर्शकहरू निराश बन्नु नपर्ने उनले विश्वास दिलाए।
यस अतिरिक्त, अध्यक्षले गान्तोकमा खेलमैदानको अभावका कारण फुटबल खेल प्रभावित बनिरहेको उल्लेख गर्दै सरकार समक्ष खेलमैदानको अभावलाई सम्बोधित गरिदिन अनुरोध पनि गरे।
एसएफए महासचिव फुर्बा शेर्पाले राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगिता आयोजना गर्न मुख्यमन्त्री प्रेमसिंह तामाङको ठूलो समर्थन रहेको बताए। उनले एसएफएको तर्फबाट मुख्यमन्त्रीप्रति आभार प्रकट गरे।
हिन्दुस्थान समाचार / बिशाल