

चिराङ्ग (असम), 30 सेप्टेम्बर (हि.स.)। नगर राजभाषा कार्यान्वयन समिति, बोङ्गाई गाउँको तत्वावधानमा बोङ्गाई गाउँ रिफाइनरीद्वारा आज जवाहर नवोदय विद्यालय, चिराङ्गमा 'सृजनात्मक हिन्दी लेखन' विषयमा कार्यशाला तथा हिन्दी पुस्तक प्रदर्शनी आयोजना गरियो। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा हिन्दी भाषा र साहित्यप्रति रुचि विकास गर्नको साथै उनीहरूको कल्पनाशक्ति, रचनात्मक अभिव्यक्ति एवं लेखन कौशललाई प्रोत्साहित गर्नु थियो।
कार्यक्रमको शुभारम्भ राकेश चतुर्वेदी, प्रिन्सिपल, जवाहर नवोदय विद्यालय, चिराङ्गका मार्गशनमा भयो। विद्यार्थी र शिक्षकहरूलाई सम्बोधन गर्दै उनले भने, भाषा विचारहरूको अभिव्यक्तिको माध्यम मात्र होइन, यो कसैको संवेदना, कल्पना र रचनात्मक अभिव्यक्तिलाई आकार दिने महत्वपूर्ण माध्यम हो। उनले विद्यार्थीहरूलाई नियमित रूपमा हिन्दी साहित्य पढ्ने अनि लेखनको माध्यमबाट आफ्ना अनुभव र कल्पना व्यक्त गर्न प्रोत्साहित गरे।
कार्यशालाका मुख्य सङ्काय सदस्य युवा कवि एवं कलाकार मो. रहमानले विद्यार्थीहरूलाई रचनात्मक लेखनका विभिन्न विधाहरूसँग परिचित गराए। कार्यक्रमको मुख्य आकर्षण हिन्दी पुस्तक प्रदर्शनी थियो। प्रदर्शनीमा हिन्दी साहित्य, कविता, कथा, बाल साहित्य, ज्ञानशास्त्र र विभिन्न विषयसँग सम्बन्धित पुस्तकहरू प्रदर्शन गरिएको थियो। हिन्दीस्थान प्रकाशन, जयपुरको सहकार्यमा आयोजित यस प्रदर्शनीमा विद्यार्थीहरूले विशेष चासो देखाए। उनीहरूले पुस्तकहरू हेरे, तथा आफूलाई मनपर्ने पुस्तकहरूको बारेमा जानकारी लिए।
यस अवसरमा विद्यालय र शैक्षिक संस्थाहरूमा हिन्दी भाषा र साहित्यको प्रवर्द्धनका लागि बोङ्गाई गाउँ रिफाइनरीले गरिरहेको प्रयासको बारेमा पनि जानकारी गराइयो। वक्ताहरूले भने, डिजीटल माध्यमको बढ्दो प्रभावसँगै पुस्तकहरूसित सम्बन्ध अनि नियमित पढ्ने बानीले विद्यार्थीहरूको बौद्धिक एवं रचनात्मक विकासमा महत्त्वपूर्ण भूमिका निभाउँछ।
कार्यक्रमको अन्त्यमा आयोजकहरूले विद्यार्थी र विद्यालय परिवारप्रति कृतज्ञता व्यक्त गरे। कार्यशाला एवं पुस्तक प्रदर्शनीले विद्यार्थीहरूलाई हिन्दीको अध्ययन, पठन तथा रचनात्मक लेखनसँग जोड्ने दिशा सार्थक पहलको रूपमा आफ्नो विशेष छाप छोड्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा