
मुर्शिदाबाद, 05 सेप्टेम्बर (हि.स.)। अदालतमा उपस्थितिका लागि लगिँदै गर्दा पुलिसलाई छलेर जेल भ्यानबाट भागेको बाङ्ग्लादेशी नागरिकलाई लगभग 24 घण्टा लामो अपरेशनपछि शनिवार बिहान मियाँपुर क्षेत्रबाट पुलिसले पक्राउ गरेको छ। पुलिसले यस मामिलामा फरार रहेको अर्को व्यक्तिलाई पहिले नै पक्राउ गरेको थियो।
पुलिस सूत्रहरू अनुसार, अनारुल शेख र मोहम्मद रूबेल शेखलाई वैध कागजात नभएको कारण बिहिवार रघुनाथगञ्जको कृष्णसेल मोर क्षेत्रबाट हिरासतमा लिइएको थियो। यी दुईको घर बाङ्ग्लादेशको चम्पैनवाबगञ्ज जिल्लामा रहेको बताइएको छ।
शुक्रवार दिउँसो लगभग 12 बजी रघुनाथगञ्ज थानाको पुलिसले अन्य तीन अभियुक्त सहित ती दुई जनालाई जङ्गिपुर अदालतमा पेश गर्न लिएर गइरहेको थियो। बाटोमा एक जना पुलिस कागजको फोटोकपी लिन गाड़ीबाट निस्किए। यसैबीच दुई अभियुक्त पुलिस हिरासतबाट भागे।
घटनापछि रघुनाथगञ्ज थाना पुलिसले तुरुन्तै खोजी अभियान चलायो। चाँड़ै, पुलिसले अनारुल शेखलाई समात्यो, तर रूबेल शेख भाग्न सफल भयो।
पुलिस अनुसार, रूबेल खडखडी नदी पार गरेर गोपालनगरको घना जङ्गलमा लुकेको थियो। त्यसपछि पुलिसले जङ्गललाई घेरा हाल्यो र यस क्षेत्रमा रातभरि नाकाबंदी गरेर खोजी अभियान शुरु गऱ्यो।
लगभग 24 घण्टापछि शनिवार बिहान पुलिसले मियाँपुर क्षेत्रबाट रूबेल शेखलाई पक्राउ गऱ्यो।
हिन्दुस्थान समाचार / भवानी थामी