शिक्षा प्रशासन र नीतिनिर्माणमा अनुभवी शिक्षकलाई अवसर दिनुपर्छ: मुख्यमन्त्री
राज्यस्तरीय शिक्षक दिवस


गान्तोक, 05 सेप्टेम्बर (हि.स.)। शिक्षा विभागले आज राजधानीको मनन केन्द्रमा राज्यस्तरीय शिक्षक दिवस मनाइयो। समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा सहभागी भए। भारतका प्रथम उपराष्ट्रपति तथा प्रख्यात शिक्षाविद् डा. सर्वपल्ली राधाकृष्णनको जयन्तीमा प्रत्येक वर्ष ५ सेप्टेम्बरमा शिक्षक दिवस मनाइन्छ।

समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले भावी पीढीको निर्माण तथा राज्यको भविष्य निर्माणमा शिक्षकहरूको महत्वपूर्ण भूमिकामाथि प्रकाश पारे। उनले राष्ट्रिय तथा राज्य शिक्षक पुरस्कार प्राप्त गर्ने शिक्षकहरूलाई बधाई दिँदै पुरस्कार सम्मान मात्र नभई अझ ठूलो जिम्मेवारी र प्रतिबद्धताको शुरुआत रहेको बताए।

आफू पनि पूर्व शिक्षक रहेको अनुभव सुनाउँदै मुख्यमन्त्रीले विशेषगरी दुर्गम क्षेत्रमा कार्यरत शिक्षकहरूले सामना गर्नुपर्ने चुनौतीलाई स्वीकार गरे। उनले प्रोबेसनरी तथा एड्हक शिक्षकहरूलाई आफूलाई खटाइएको स्थानमा प्रतिबद्ध भएर सेवा गर्न आग्रह गर्दै दुर्गम क्षेत्रका विद्यालयमा अझै शिक्षकको अभाव रहेको तर शहरी विद्यालयमा शिक्षक संख्या बढी रहेको बताए। शिक्षक अभाव रहेका क्षेत्रमा योग्य स्थानीय उम्मेदवारलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए।

अनुभवी शिक्षकहरूलाई आफ्नो सम्पूर्ण सेवाकाल आधारभूत तहमा मात्र सीमित नराखी शिक्षा प्रशासन तथा नीतिनिर्माणमा योगदान गर्ने थप अवसर दिनुपर्ने मुख्यमन्त्रीले बताए। विशेषगरी दुर्गम तथा कठिन क्षेत्रमा कार्यरत शिक्षक र विद्यार्थीको दृष्टिकोणबाट शिक्षा नीति तथा कार्यक्रमलाई हेर्न उनले अधिकारीहरूलाई आग्रह गरे।

मुख्यमन्त्रीले बोर्डिङ विद्यालयलगायत विभिन्न पहलमार्फत शिक्षा क्षेत्रलाई सुदृढ बनाउने राज्य सरकारको प्रयासबारे पनि प्रकाश पारे। राज्यको शिक्षा प्रणालीमा सिर्जना भइरहेका अवसरका कारण विद्यार्थीहरूमा देखिएको आत्मविश्वास तथा सञ्चार क्षमतामा सकारात्मक परिवर्तन आएको उनले बताए।

शिक्षा, खेलकुद तथा युवा मामिला विभागका मन्त्री राजु बस्नेतले आफ्नो सम्बोधनमा राज्य सरकारको शिक्षा क्षेत्रसम्बन्धी दृष्टिकोण प्रस्तुत गरे। शिक्षकलाई सशक्त नबनाई शिक्षा प्रणालीमा अर्थपूर्ण तथा दीर्घकालीन परिवर्तन सम्भव नहुने बताउँदै उनले शिक्षकहरूको व्यावसायिक विकास, क्षमता अभिवृद्धि, प्रशिक्षण, कल्याण तथा सम्मानलाई राज्य सरकारले विशेष प्राथमिकता दिएको बताए।

समकालीन शिक्षा प्रणालीमा शिक्षकको बदलिँदो भूमिकामाथि प्रकाश पार्दै मन्त्री बस्नेतले शिक्षकहरू ‘जीवनभर सिक्ने व्यक्ति’ बन्नुपर्नेमा जोड दिए। यस उद्देश्यले राज्यका विभिन्न शैक्षिक संस्थामार्फत विभिन्न प्रशिक्षण तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए।

शिक्षा क्षेत्र राज्य सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै मन्त्रीले भारतका राष्ट्रपतिबाट सिक्किमलाई पूर्ण साक्षर राज्य घोषणा गरिनु ऐतिहासिक उपलब्धि तथा सिक्किमवासीका लागि गौरवको क्षण रहेको बताए। यो उपलब्धि शिक्षक, विद्यार्थी, अभिभावक तथा समग्र समाजको सामूहिक प्रयासको परिणाम भएको उनले उल्लेख गरे।

आफ्नो स्वागत सम्बोधनमा शिक्षा विभागका प्रधान सचिव सन्दीप ताम्बेले पुरस्कार प्राप्त शिक्षकहरूको शिक्षा क्षेत्रमा योगदानको प्रशंसा गरे। उनले शिक्षक दिवस शिक्षकहरूले बालबालिकाको जीवन निर्माणमा पुर्‍याउँदै आएको प्रायः मौन तर महत्वपूर्ण योगदानलाई सम्मान तथा स्मरण गर्ने अवसर रहेको बताए।

समारोहमा पीएम श्री सरकारी वरिष्ठ माध्यमिक विद्यालय, मङ्गनका प्रधानाचार्य कर्म टेम्पो एथेन्पालाई राष्ट्रिय शिक्षक पुरस्कार २०२५ प्रदान गरियो। यसैगरी, शिक्षा क्षेत्रमा अनुकरणीय सेवा र योगदानको कदर गर्दै १२ शिक्षकहरूलाई राज्य पुरस्कार २०२६ प्रदान गरियो भने २४ जना पुरस्कृत शिक्षकहरूलाई प्रशंसा प्रमाणपत्र २०२६ ले सम्मानित गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande