
खरसाङ, 05 सेप्टेम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ टाउन कमिटीले वार्डहरुलाई सांगठनिक स्तरमा सुदृढ़ बनाउने कार्यलाई निरन्तरता दिँदै खरसाङ नगरपालिकाको वार्ड नम्बर 8 मा सांगठनिक सभा सम्पन्न गरेको छ। उक्त सभा खरसाङ टाउन कमिटीका अध्यक्ष बीरबल पाख्रीनको अगुवाईमा वार्ड नम्बर 8 काे शितलु बस्ती ग्राम जन कल्याण संघको समिति भवनमा सम्पन्न गरियो।
वार्ड नम्बर 8 का वार्ड अध्यक्ष सुभाष राईको अध्यक्षतामा सम्पन्न भएको सभामा टाउन कमिटीका सांगठनिक सचिव कुणाल छेत्री, अध्यक्ष बीरबल पाख्रीन, मूल सचिव राजु सेवा, खरसाङ नगरपालिकाका पूर्व पार्षद मेम्बा योञ्जन, वार्डका वरिष्ठ सदस्य डीबी लामा लगायत वार्ड नंम्बर 8 नारी शक्तिका सदस्य सविता मुखियाले वक्तव्य राखेका थिए।
सभामा टाउन कमिटीका सह सचिव रमोद गुरुङ, सल्लाहकार किशोर लिम्बू लगायत कार्यकारीणी सदस्यहरु, वार्ड नम्बर 8 का प्यारेन्ट्स बडी, नारी शक्ति अनि युवा शक्तिका प्रतिनिधि अनि सदस्यगण उपस्थित थिए भनी जानकारी प्राप्त भएको छ।
हिन्दुस्थान समाचार / हनोक