लोकसभा अध्यक्षले मेजर धनसिंह थापाको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गरे
प्रतीकात्मक


नयाँ दिल्ली, 06 सेप्टेम्बर (हि.स.)। लोकसभा अध्यक्ष ओम बिरलाले आइतबार परमवीर चक्रबाट सम्मानित मेजर धनसिंह थापाको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

बिरलाले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, “सन् १९६२ को भारत-चीन युद्धका नायक तथा परमवीर चक्रबाट सम्मानित मेजर धनसिंह थापाको पुण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जली! उहाँको वीरता र नेतृत्व भारतीय सैन्य इतिहासका ती गौरवशाली अध्यायहरूको हिस्सा हुन्, जसलाई देशले सधैं गर्वका साथ स्मरण गरिरहनेछ।”

उल्लेखनीय छ, २८ अप्रेल, १९२८ मा शिमलामा जन्मिएका मेजर धनसिंह थापा अक्टोबर १९६२ मा लद्दाखस्थित पेगोङ लेकको उत्तर किनारमा रहेको ‘सिरीजाप-१’ चौकीमा २८ जना जवानसहित तैनाथ थिए। चिनियाँ सेनाले भारी गोलाबारी तथा ट्याङ्कसहित चौकीमा आक्रमण गरेको थियो। मेजर थापा र उनका जवानहरूले “जय महाकाली, आयो गोर्खाली” को उद्घोष गर्दै शत्रुका कैयौँ आक्रमणलाई विफल बनाएका थिए।

गोला-बारुद सकिएपछि उनीहरू आमनेसामनेको लडाइँमा उत्रिएका थिए र अन्ततः चिनियाँ सेनाले उनीहरूलाई बन्दी बनाएको थियो। भारतमा उनलाई शहीद भएको ठान्दै मरणोपरान्त परमवीर चक्र प्रदान गरिएको थियो। तर, लगभग डेढ वर्षपछि मई १९६३ मा उनी चिनियाँ कैदबाट मुक्त भएर भारत फर्किएपछि पूरै देश आश्चर्य र खुशीले भरिएको थियो।

करिब २४ वर्षसम्म राष्ट्रको सेवा गरेपछि मेजर धनसिंह थापा सेनाबाट अवकाशप्राप्त भए र ६ सेप्टेम्बर, २००५ मा उनको निधन भयो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande