
नयाँ दिल्ली, 06 सेप्टेम्बर (हि.स.)। दक्षिण-पश्चिम दिल्लीमा आइतवार वर्षाका क्रममा दिल्ली विश्वविद्यालयको साउथ क्याम्पसनजिक सत्य निकेतन क्षेत्रमा एउटा भवन भत्किएको छ। भवनको भग्नावशेषमा धेरै मानिस फसेको आशंका गरिएको छ। दमकल विभागलाई दिउँसो करिब १ः३० बजी घटनाबारे सूचना प्राप्त भएको थियो। पुलिसले तथा उद्धारकर्मीहरूले भग्नावशेष हटाउँदै राहत तथा उद्धार कार्य शुरु गरेका छन्।
दिल्लीकी मुख्यमन्त्रीले सत्य निकेतनमा भवन भत्किएको घटनाप्रति चिन्ता व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै जिल्ला विपद् व्यवस्थापन प्राधिकरण (डीडीएम), राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ), दिल्ली फायर सर्भिस, दिल्ली पुलिस, एमसीडी तथा सिभिल डिफेन्सका टोलीले युद्धस्तरमा उद्धार कार्य गरिरहेको बताएकी छन्। सावधानीका रूपमा छेउको भवन पनि खाली गराइएको छ। भग्नावशेषमा फसेका मानिसलाई सुरक्षित बाहिर निकाल्न तथा प्रभावित परिवारलाई तत्काल सहयोग पुर्याउन हरसम्भव प्रयास भइरहेको उनले बताइन्।
मुख्यमन्त्रीले अवस्थामाथि नजिकबाट निगरानी भइरहेको र सबै सम्बन्धित निकायले आपसी समन्वयमा काम गरिरहेको बताइन्। प्रत्येक नागरिकको सुरक्षा र कल्याण सरकारको सर्वोच्च प्राथमिकता रहेको उनले उल्लेख गरिन्।
नेसनल स्टुडेन्ट्स युनियन अफ इन्डिया (एनएसयूआई) ले पनि ‘एक्स’ मा पोस्ट गर्दै दिल्ली विश्वविद्यालयको साउथ क्याम्पसनजिक सत्य निकेतनमा भवन भत्किएको खबर अत्यन्त चिन्ताजनक भएको जनाएको छ। भग्नावशेषमा दिल्ली विश्वविद्यालयका विद्यार्थीहरू समेत पुरिएको जानकारी आइरहेको एनएसयूआईले दाबी गरेको छ।
एनएसयूआईले दिल्ली विश्वविद्यालय प्रशासन र सरकारलाई तत्काल युद्धस्तरमा राहत तथा उद्धार कार्य सञ्चालन गर्न, प्रत्येक विद्यार्थी तथा अन्य व्यक्तिलाई सुरक्षित बाहिर निकाल्न र घटनाको निष्पक्ष छानबिन गरी जिम्मेवार व्यक्तिको जवाफदेहिता तय गर्न माग गरेको छ। विद्यार्थीहरूको जीवनको सुरक्षामा कुनै पनि किसिमको लापरवाही स्वीकार्य नहुने उसले जनाएको छ।
/ बिशाल