
हैदराबाद, 0७ सेप्टेम्बर (हि.स.)। तेलंगाना विधानसभाको मानसुन सत्र सोमवार विरोध प्रदर्शनबीच शुरु भयो। कालो टी–सर्ट लगाएर विधानसभा पुगेका भारत राष्ट्र समिति (बीआरएस) का कार्यकारी अध्यक्ष केटी रामा राव (केटीआर), पूर्वमन्त्री टी हरिश राव सहित केही विधायकलाई पुलिसले परिसरमा प्रवेश गर्नदेखि रोक्यो। पछि पुलिसले केटीआर, हरिश राव तथा अन्य नेताहरूलाई हिरासतमा लिएर तेलंगाना भवन पुर्यायो।
बीआरएसका विधायकहरू कांग्रेस सरकारका कथित अधुरा चुनावी वाचाको विरोधमा ‘गारन्टी लागू गर्न कांग्रेस असफल’ र ‘१,००० दिनको शासन असफल’ जस्ता नारा लेखिएका कालो टी–सर्ट लगाएर विधानसभा पुगेका थिए। पुलिसले राजनीतिक सन्देश लेखिएको टी–सर्ट लगाएर विधानसभा परिसरमा प्रवेश गर्न अनुमति नभएको बतायो। त्यसपछि मुख्य प्रवेशद्वारमा नेता र पुलिसबीच विवाद तथा धक्कामुक्की भयो।
बीआरएसको दाबी अनुसार, यस क्रममा केटीआर र पूर्वमन्त्री जी जगदीश रेड्डीलाई सामान्य चोट लागेको छ। पार्टीले महिला विधायकहरूसँग पनि पुलिसले धक्कामुक्की गरेको आरोप लगाएको छ। विधायक वी सुनीता लक्ष्मा रेड्डीले यस क्रममा आफ्नो खुट्टा कुल्चिएको आरोप लगाएकी छन्। केटीआरका जनसम्पर्क अधिकारी महेश पनि घाइते भएको बताइएको छ।
प्रवेशको अनुमति नपाएपछि हरिश रावले आफ्नो टी–सर्ट उतारेर सदनभित्र गएर जनताका मुद्दा उठाउन दिन माग गरे। पछि उनलाई केटीआर र अन्य नेताहरूसँगै हिरासतमा लिइयो। अर्कोतर्फ, सामान्य पोसाकमा आएका बीआरएसका सदस्यहरूलाई भने विधानसभा परिसरमा प्रवेश दिइयो।
सत्रको पहिलो दिन विरोध प्रदर्शन विधानसभा सामू स्थित गनपार्कबाट शुरु भयो। केटीआरले बीआरएस प्रमुख के चन्द्रशेखर राव (केसीआर) ले पार्टी नेताहरूलाई सदनमा सरकारका अधुरा ग्यारेन्टीबारे जवाफ माग्न निर्देश दिएको बताए।
विधानसभाको मुख्य प्रवेशद्वारमा भएको विरोध प्रदर्शन र पुलिस कारबाहीका कारण क्षेत्रमा लगभग ३० देखि ४० मिनेटसम्म यातायात प्रभावित भयो। तलसानी श्रीनिवास यादव, पी. सबिता इन्द्र रेड्डी, कोवा लक्ष्मी र माधवरम कृष्णा राव सहित अन्य बीआरएस नेताहरूले पार्टी विधायक विरुद्ध गरिएको कारबाहीको विरोधमा विधानसभा लबीको प्रवेशद्वारमा धरना दिए।
पत्रकारहरूसँग कुराकानी गर्दै केटीआरले प्रश्न गरे कि जब लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीलाई संसदमा कालो टी–सर्ट लगाउन अनुमति दिइएको छ भने तेलंगाना विधानसभामा बीआरएस नेताहरूलाई त्यसो गर्न किन रोकियो?
उनले कांग्रेस सरकारमाथि चुनाउका क्रममा ४२० वटा वाचा गरेको र ती वाचा १०० दिनभित्र पूरा गर्ने संकल्प गरेको आरोप लगाए। केटीआरले सरकारको १,००० दिन पूरा भइसके पनि एउटा पनि वाचा पूरा नभएको दाबी गरे।
केटीआरले विधानसभा नजिक भएको पुलिस कारबाहीको विरोधमा बीआरएस कार्यकर्ताहरूलाई राज्यव्यापी प्रदर्शन गर्न आह्वान गरेका छन्। बीआरएसले प्रदर्शनका क्रममा महिला विधायकहरूसँग कथित अभद्र व्यवहार गरिएको आरोप समेत लगाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी