
नयाँ दिल्ली, 06 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार लोक कल्याण मार्गबाट मेट्रो यात्रा गर्ने क्रममा आम सहयात्री, विद्यालयका विद्यार्थी तथा युवाहरूसँग संवाद गरेका छन्।
प्रधानमन्त्रीले सामाजिक सञ्जाल ‘एक्स’ मा साझा गरेको भिडियोमा देखाइएअनुसार, अनौपचारिक कुराकानीका क्रममा शिक्षक दिवस र देशको प्रगतिबारे चर्चा भयो। यस क्रममा प्रधानमन्त्रीले विद्यार्थीहरूलाई पुस्तकसँग जोडिन तथा जीवनी पढ्ने विशेष सुझाउ दिए। साथै, आफ्नो संसदीय क्षेत्र काशी (वाराणसी) मा भएका परिवर्तनबारे उनले यात्रुहरूसँग प्रत्यक्ष जानकारीसमेत लिए।
यात्राका क्रममा बालबालिका तथा युवाहरूसँग संवाद गर्दै प्रधानमन्त्रीले उनीहरूलाई देशको प्रगतिबारे छलफल गर्ने गर्छन् कि गर्दैनन् र सामान्य पुस्तकबाहेक अन्य पुस्तक पनि पढ्ने गरेका छन् कि छैनन् भनेर सोधे। एक विद्यार्थीले आफूले उपन्यास मात्र पढ्ने गरेको बताएपछि प्रधानमन्त्री मोदीले उनलाई जीवनी पढ्न सुझाउ दिए।
प्रधानमन्त्रीले भने, “आत्मकथा वा जीवनी पढ्ने प्रयास गर्नुपर्छ। तपाईं कुनै खेलाडी, चलचित्र कलाकार वा वैज्ञानिकको जीवनी पढ्न सक्नुहुन्छ... जोसुकैको पढ्नुस्।” उनले त्यहाँ उपस्थित एक विद्यार्थीसँग पाठ्यक्रमबाहेक यस्ता प्रेरणादायी पुस्तकहरू पढ्ने प्रतिबद्धतासमेत लिए।
यसै क्रममा एक विद्यार्थीले प्रधानमन्त्रीको सम्मानमा ‘गुरुर्ब्रह्मा गुरुर्विष्णुः...’ श्लोक सुनाएका थिए। त्यसमा प्रधानमन्त्री मोदीले मुस्कुराउँदै विद्यार्थीको उत्साह बढाएका थिए।
बीएचयूबाट स्नातक तथा दिल्ली विश्वविद्यालयबाट कानुनको अध्ययन गरेकी काशीकी एक महिला यात्रुसँग प्रधानमन्त्रीले आफ्नो संसदीय क्षेत्रमा भएका उल्लेखनीय परिवर्तन तथा त्यसको जमीनी अवस्थाबारे प्रत्यक्ष जानकारी लिए।
हिन्दुस्थान समाचार / भवानी थामी