
बागपत (उत्तर प्रदेश), 0७ सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको बागपत जिल्लाको खेकडा थाना क्षेत्रमा सोमबार राति ठूलो सडक दुर्घटना भएको छ। दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने करिब ३२ जना घाइते भएका छन्। राजस्थानबाट बदायुँतर्फ जाँदै गरेको यात्रु बोकेको एउटा सवारीसाधन डिभाइडरमा ठोक्किएपछि अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको पुलिसले जनाएको छ।
पुलिसका अनुसार, राति करिब १२:३० बजी डायल-११२ मार्फत दुर्घटनाको सूचना प्राप्त भएको थियो। सूचना पाएलगत्तै खेकडा थाना पुलिस, चारवटा पीआरभी गाडी र एम्बुलेन्स टोली घटनास्थल पुगेका थिए। टोलीले तत्काल राहत तथा उद्धार कार्य शुरु गरेको थियो।
घाइतेहरूलाई तत्काल तीनवटा अस्पतालमा पुर्याइएको थियो। सबै घाइतेलाई सीएचसी खेकडा, सीएचसी बागपत र जिल्ला अस्पताल बागपतमा भर्ना गरिएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूलाई थप उपचारका लागि उच्च स्वास्थ्य केन्द्रमा रेफर गरिएको छ।
बागपतका पुलिस अधीक्षक सूरज कुमार राय र जिल्लाधिकारी अस्मिता लाल पनि घटनास्थल पुगेका थिए। उनीहरूले घटनाको जानकारी लिएर घाइतेहरूलाई तत्काल उपचारको व्यवस्था मिलाएका थिए।
दुर्घटनापछि घटनास्थलमा केही समय हलचलको अवस्था सिर्जना भएको थियो। पुलिसले स्थिति नियन्त्रणमा लिँदै यातायात व्यवस्था सुचारु गराएको थियो। साथै, मृतक तथा घाइतेका परिवारजनसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ।
बागपतका पुलिस अधीक्षक सूरज कुमार रायका अनुसार, दुर्घटनामा घाइते तथा मृतकसम्बन्धी जानकारी लिन परिवारजनले ९४५४४१७३८३ नम्बरमा सम्पर्क गर्न सक्नेछन्। हालसम्म दुर्घटनामा चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने धेरै जना घाइते भएका छन्।
हिन्दुस्थान समाचार / बिशाल