दसैँ विशेष: नौरथा र नौ — 'दिवाकर प्रधान'
दसैँ विशेष: नौरथा र नौ


नौ दिन दुर्गाका नौ रूप छन्: शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री। देवी पर्वतकी छोरी भएर जन्म लिँदछिन्। अध्ययनकालमा ब्रह्मचर्य धारण गरी ब्रह्मचारिणी बन्दछिन्।अध्ययनको उपाधि सिद्ध गरी चन्द्रघण्टा धारण गर्दछिन्। ब्रह्माण्ड प्रजननका लागि तत्पर बनी अण्ड प्राप्त गर्दछिन्। स्कन्ध कुमार कार्तिकेयकी आमा बन्दछिन्। ऋषि कात्यायनकी विद्यापुत्री बनी ज्ञान प्रचार गर्दछिन्। स्थायी कालो रङ्ग चिनेर काललाई नियन्त्रण गर्दछिन्। गौरी बनी जगत्-लाई प्रकाशवान् गर्दछिन्। यसरी जीवन र जगत् सिद्ध गर्नसक्ने ज्ञान र शक्ति प्रदान गर्दछिन्।

एकल सङ्ख्याको उच्चतम अङ्क नौ हो अर्थात् १-२-३-४ …-मा सबभन्दा धेर बुझाउने सङ्ख्या ९ हो। नौलाई जति ट्क्राए पनि नौ नै हुने देकिन्छ। शून्यदेखि नौसम्मका प्राकृतिक अङ्कलाई ९-ले गुणा गर्दा निस्कने सङ्ख्या जोड़े ९ नै हुनाले पूर्णताको प्रतीक मानिन्छ -

२ × ९ = १८ (१ + ८ = ९)

३ × ९ = २७ (२ + ७ =९)

९ × ९ = ८१ (८+ १ = ९)

९ x १३ = ११७ (१+१+७=९)

उपनिषद्ले परमात्मा र जीवात्मालाई पूर्णतत्त्व मानेजस्तै रामको आध्यात्मिकता सिद्ध गर्न नवमीमा जन्मेको देखाए। लोकले यसैलाई स्वीकारे।

लोकोक्ति छन्- नौतारा देख्नु (झसङ्ग हुनु), नौ दो ग्यारह होना (भाग्नु), To go the whole nine yards (सम्भावना; प्राप्ति), A cat has nine lives (काम फत्ते गर्नु), To be on cloud nine (गजक्क पर्नु), Found true 9 out of 10 times (जीत; अनुमोदन)।

१८२४-मा विथोविनले भेनिस नगरमा इतिहासप्रसिद्ध सांगीतिक प्रस्तुति दिए - सिम्फोनी नम्बर नाइन। यसलाई पाश्चात्य शास्त्रीय संगीतको महत्तम उपलब्धि मानिन्छ। नाइन्थ सिम्फोनी बनाउने संगीतकार खुत्रुक्कै मरिहाल्ने विश्वास पनि गर्दारहेछन्। मर्ने नै हो भने नाइन्थ सिम्फोनी बनाएरै मरिन्छ भन्ने मान्दारहेछन्।

साहित्यमा यता नवरस मानिए - शृङ्गार, हास्य, करुण, रौद्र, वीर, भयानक, वीभत्स, अद्भुत र शान्त । उता दाँते (Dante)-ले Divine Comedy-मा देखाए नर्कका नौ वृत्त (Nine circles of hell). यता राजनारायण प्रधानले लेखे 'नौ नामी नेता', उता Dorothy L. Sayers-ले लेखिन् The Nine Tailors (1934). गिरीले लेखे 'नौ लाख तारा उदाए', गाए अम्बरले।

ज्योतिषका नवग्रह हाम्रा सुखदु:खका प्रभावकर्ता मानिए। व्यक्ति र समाजलाई मनपर्ने थोक नवरत्न (nine jewels)। ज्योतिषले नौ ग्रहका खेल देखाए। कर्मकाण्डले नौ ग्रह शान्तिका सुझाउ दिए। ग्रह र रत्नको सम्बन्ध बुझाए। शैवले शिवालाई शिवका नौ शक्ति माने, वैष्णवी कथाले रामलाई नवमीमा जन्मेको देखाए। शाक्तले सोझै शक्ति पूजा गरे- नवदुर्गा परिकल्पना गरे। श्लोक रचे :

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।

तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।

पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।

सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।

नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता:।

उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना ।।

यसरी नौरथामा प्रत्येक दिन एकएकजना दुर्गाको दिन माने १. शैलपुत्री (हिमालयकी छोरी), २. ब्रह्मचारिणी (ब्रह्म अर्थात् तपको आचरण गर्ने), चन्द्रघण्टा (टाउकोमा घण्टीजस्तो आधा जून हुने), कुष्माण्डा (मुसुक्क हाँसेर अण्डा पार्ने), स्कन्दमाता (स्कन्द अर्थात् कार्तिकेयकी आमा), कात्यायनी (ऋषि कात्यायनकी छोरी), कालरात्रि (रातजस्तै अतिकाली), महागौरी (अतिगोरी), सिद्धिदात्री (काम फत्ते गरिदिने)।

नौरथामा भक्तपुरे नेवारहरूले प्याख: नृत्यनाटिका गर्दछन्। नौजना देवी नटी र तीनजना वाद्यवादक गरी बाह्रजनाको टोलीले ख्वापः (मखुण्डो) लाएका हुन्छन्- भैरव, महाकाली, वाराही, भद्रकाली, कुमारी, महेश्वरी, ब्राह्मणी, गणेश, इन्द्राणी, सिमा, दुमा र सेतो भैरव। यीमध्ये तीनजनाले तीनवटा बाजा बजाउँछन्- खिँ, त र त्य।

वैशेषिक दर्शनमा नौ द्रव्य छन्- पृथिवी, आप, तेज, वायु, आकाश, काल, दिक्, आत्मा और मन।

बौद्ध नौ चेतना गम्भीर दर्शन हो। बौद्धदर्शनको चेतना शब्दको अनुवाद संस्कृत शब्द विज्ञान हो, साइन्स होइन, विशिष्ट ज्ञान हो। यो कसैको आत्मजागरूकता तथा जीवनलाई प्रभावित गर्ने विभिन्न ऊर्जाबारे बुझ्ने क्षमता सन्दर्भित हुँदछ। बौद्ध दर्शनले ध्यानद्वारा योगको अष्टसिद्धिपश्चात् नवौँ चेतनामा पुग्नसकिने निदेश गर्दछ। भिक्षु पतञ्जलि, भिक्षु दिङ्नागहरू बुझेमा नवौँ चेतना जानिन्छ भनिन्छ।

ग्रीसका साहित्य, विज्ञान र कलाका नौजना म्युज देवीहरू प्रसिद्ध छन्: क्यालिओप (महाकाव्य), क्लिओ (इतिहास), युटर्पे (दुइनाले मुरली र संगीत), थालिआ (कामदी र लोकगीत), मेल्पोमेने (त्रासदी- नाटक), टर्पसिकोर (नाँच), इराटो (प्रेमकविता र रतिरचना), पोलिहिम्निआ (भक्तिरचना) र युरानिआ (ज्योतिष)। ग्रीक मिथकले स्वर्गबाट पृथ्वीमा ओर्ह्लनु ९ दिन लाग्ने अनि टार्टारस नर्कमा जान पनि ९ दिनै लाग्ने कुरा गरेको पाइन्छ।

नाइन फ्रुट्स अब् होली स्पिरिट मान्ने इसाईहरूका लागि नौरथा महत्वपूर्ण पर्व हुनुपर्ने हो। उनीहरूको नौ पवित्रहंस नवदुर्गा मान्दा हुन्छ। जसले दिन्छ ऊ देवी वा देवता हो । होली स्पिरिटले पनि नौ भाव दिँदछन् - प्रेम, हर्ष, शान्ति, धैर्य, दया, क्षमा, कृपा, विश्वास र संयम।

नौ मासे गर्भधारणबाट बनेकी 'माता सदा वन्दिता' - 'या देवी सर्वभूतेषु सृष्टि रूपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।'

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande