खरसाङ, 21 नोभेम्बर (हि.स.)। खरसाङ चिमनी देवराली समष्टिको तल्लो सिमानाटार बस्तीमा बाटो निर्माण कार्यको थालनी गरिएको छ। चुनाउअघि गरिएको वाचा अनुसार समष्टि सभासद श्याम शेर्पा र उनको टोलीले डोजर लगाएर सडक खन्ने काम शुरु गरेका छन्।
उक्त बाटो निर्माणको काम सभासद श्याम शेर्पाको व्यक्तिगत प्रयासमा सम्पन्न भइरहेको बताइएको छ। यस अवसरमा सबै धार्मिक विधि र पूजापाठ गरेर शिलान्यासपछि बाटो निर्माणको कार्य शुरु गरियो। शिलान्यास कार्य अवधि भागोप्रमो नारी शक्तिकी समष्टि अध्यक्षा सुष्मा मुखिया, सचिव ललिता छेत्री, पञ्चायत समिति सदस्य दिनेश तामाङ, सिमानाटारका प्रतिनिधि अनुप तामाङ र अन्य स्थानीय पार्टी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बाटोको निर्माण कार्य थालनीले स्थानीय गाउँवासीहरू अत्यन्तै खुशी छन्। उनीहरूले जनप्रतिनिधिहरूप्रति आभार व्यक्त गरेका छन्। बाटोको निर्माण कार्यको थालनी विषयमा पत्रकारहरुसित कुराकानी गर्दै नारी शक्तिकी समष्टि अध्यक्षा सुष्मा मुखियाले चुनाउको समयमा यो बाटो निर्माणको लागि हामीले वचन दिएका थियौँ र क्षेत्रीय सभासद श्याम शेर्पाको पहलमा हाम्रो टिमले बाटो निर्माणको कार्य शुरु गरेको छ भनिन्।
उनले क्षेत्रीय सभासद श्याम शेर्पा, पञ्चायत समिति सदस्य दिनेश तामाङ लगायत अरुको उपस्थितिमा आज पूजा अर्चना गरेर शिलान्यास गरिएको बताइन्। उनले बाटो निर्माणको कार्य शुरु गरिएकोमा सभासद शेर्पा र जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएकी छन्।
हिन्दुस्थान समाचार / हनोक