तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्ट: मोरङ नेपाललाई हराउँदै युकेएफसी सेमिफाइनलमा
Ukfc-nepal-football


खरसाङ, 31 दिसम्बर (हि.स.)। तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्टमा मोरङ नेपाललाई पराजित गर्दै युकेएफसी खरसाङ सेमिफाइनलमा प्रवेश गरेको छ। युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएशनको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भइरहेको तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्टको अन्तिम क्वार्टर फाइनल खेल आज सुन्दर हराईचा मोरङ नेपाल र युकेएफसी खरसाङमाझ सम्पन्न भयो।‌

खेल शुरु भएको छैटौं मिनटमा नेपालको जर्सी नम्बर 5 विशाल भण्डारीले गोल गरेर राम्रो शुरुवात गरे भने पहिलो हाफको खेल 1-0 मा समाप्त भएको थियो। तीनधारेको मिठाईडाँडा खेल मैदानमा आज नेपालको खेल हेर्नलाई रेकर्ड दर्शकहरुको उपस्थिति रहेको थियो। दर्शकहरुको अपार माया पाएको नेपालले पनि पहिलो हाफमा आकर्षक खेल देखाए।

दोस्रो हाफको खेलमा भने युकेएफसीले लगातार आक्रमण गरिरह्यो। यस क्रममा युकेएफसीको जर्सी नम्बर 6 बीरेन प्रधानले सुन्दर गोल गरेर खेल बराबरीमा ल्याएका थिए। दोस्रो हाफको खेलमा युकेएफसीले लगातार रुपमा विपक्षी दलको गोल पोष्टमा आक्रमण गरिरह्यो अनि खेल समाप्त हुन केवल दुई मिनटको समयमा युकेएफसीको जर्सी नम्बर 6 बीरेन प्रधानले आफ्नोे साथै टिमको लागि दोस्रो गोल गरे। यसरी यो खेलमा युकेएफसी 2-1 को अन्तरले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

आजको खेलमा म्यान अफ् द म्याच युकेएफसीको तर्फबाट दुई गोल गर्ने बीरेन प्रधान चयन भएका छन्।‌ अब सेमिफाइनलमा युकेएफसीको भीडन्त युनाईटेड एफसी दार्जिलिङमाझ हुने छ‌। आजको खेलमा मुख्य अतिथिको रुपमा विकास तामाङ उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा सुमन लोहार र अन्य उपस्थित रहेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande